पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३
वैशाखमा आफू र राजनीतिक दलहरूबीच सहमति र समझदारी भएको दाबी गर्दै शान्ति, स्थायित्व र समृद्धिका लागि त्यसलाई
पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन्।
नेपालमा गणतन्त्र घोषणाको ६ वर्षपछि पूर्वराजा शाहले
पहिलोपल्ट आफू र तत्कालीन आन्दोलनकारी दलहरूबीच सहमति र समझदारी भएको खुलासा गरेका
हुन्। उनले ६५ औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा 'सहमतिको सही रूपले कार्यान्वयन' मा जोड त दिएका छन् तर के सहमति भएको थियो भन्नेचाहिँ
खुलाएका छैनन्। सन्देशमा उल्लेख छ, 'तत्कालीन राजनीतिक दलहरू र मेराबीच प्रजातन्त्रको
मूल्य र मान्यतामा आधारित जे-जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए। तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रूपले कार्यान्वयनमा ल्याई मुलुकलाई
दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनीत दिवसको सार्थकता
रहन्छ।' पूर्वराजाको सन्देशमा '६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको
समन्वयकारी सत्प्रयासबाट नेपाली जमिन र जनजीवनमा प्रजातन्त्रको बीजारोपण भएको' उल्लेख गर्दै आफ्ना हजुरबा राजा त्रिभुवन र जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति
श्रद्धाञ्जलि व्यक्त गरिएको छ। 'प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनताजनार्दनको
भाग्य भविष्यको आधार हो। राज्य सञ्चालन र विधि व्यवस्थापनका निम्ति चाहिने मुख्य
विषय आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो', सन्देशमा लेखिएको छ। वर्तमान राजनीतिक दलहरूबीच चलिरहेको द्वन्द्व र
आफूलाई पनि निषेध गरेकातर्फ संकेत गर्दै उनको सन्देशमा लेखिएको छ, 'निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरूप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन
गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो।'उनले ६४ वर्षअघि हजुरबुबा र २०६३ वैशाखमा आफूले 'गरे-गराएको कार्यविधि पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियता बलियो बनाउने
कार्य कदम' भएको दाबी गरेका छन्।
Comments
Post a Comment