बर्दियामा नेपाली भुमि प्रवेश गरि भारतीयहरुद्धारा फायरिंग,फायरिंगबाट एक घाईते


पी सी एन् १४चैत्र । भारतीय सीमासंग जोडिएको गुलरिया नगरपालिका वडा नं १२ चौगुर्जी मौजाको खेतमा भारतबाट आएका अपचिरितको समुहले फायरिंग गर्दा  २८बर्षीय रमेश लोध सामान्य घाईत भएका छन् ।
गुलरिया नगरपालिका वडा नं ११ आशापुर घर भएका लोध मसुरो काटन सिताराम लोधको खेतमा गएका बेला भारतीय भुभागबाट पांचसय मिटरभित्र नेपाली भुमिमा  प्रवेश गरेका पांच जनाको समुहले दिउसो २ बजेको समयमा फायरिंग गरेका थिए । भारतीयहरुको फायरिंगबाट बच्न रमेश सहित खेतमा काम गर्न गएकाहरु भागेर गांउमा आएका थिए ।
उनीहरुले हामी बसेको ठांउ भन्दा १सय मिटर टाढाबाट २ पटकमा चार राउण्ड जति फायरिंग गरि भारतीय जंगलमा गए ः स्थानीय अधेरी लोधले भने सायद उनीहरु भारतीय वनका कर्मचारी हुन सक्छन् ।  
स्थानीय बासिन्दा र घाईतहरुले भारतीय वन विभागमा कार्यरत कर्मचारीहरुले फायरिंग गरेको बताए पनि नेपाली अधिकारीहरुले भने त्यसको पुष्टि गर्न सकेका छैनन्। स्थानीय बासिनदाका अनुसार भारतीय वन बिभागमा कार्यरत कर्मचारीहरु  खडक सिंह,युनुफ र नैयफले   आफुहरुमाथि फायरिंग गरेको आरोप लगाएका छन् ।
घटना लगतै बर्दियाका सहायक प्रजिअ एकदेव अधिकारीको नेतृत्वमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्टिय अनुसन्धानको टोली घटनास्थल पुगि घटनाबारे जानकारी लिई गोली लागि घाईते भएका लोधलाई उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याईएको थियो । लोधको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।उनको अवस्था सामान्य रहेको छ। 
बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले नेपाली भुभागमा आई भारतीयद्धारा भएको फायरिंगको बारेमा आफुहरुले अनुसन्धान गरिरहेको र यसबारे अनुसन्धान गर्न आफना समकक्षी बहराईच जिल्लाका डिएम संग टेलिफोनमा कुरा गरेको जानकारी दिनुभयो । उंहाले नेपाली भुभागमा आई फायरिंग गर्ने कार्य राष्टिय अन्र्तराष्टिय कानुन विपरीत भएकाले परराष्ट मन्त्रालय र गृह मन्त्रालयमा समेत लेखि पठाउने बताउनु भयो ।
नेपाल भारतसीमाको  ६२ नम्बर पिलर नजिकै भएको सो घटनास्थलबाट सहायक प्रजिअ एकदेव अधिकारीको नेतृत्वमा गएको टोलीले बारबोल बन्दुकको गोलीको प्लास्टिकको खोका  समेत बरामद गरेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनु भयो ।  

Comments