अख्तियार प्रमुख कार्की र जापानी राजदूत बीच भेटवार्ता सम्पन्न


पी सी एन्,२वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख आयुक्त लोक मान सिंह कार्कीसँग बुधबार नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गर्नु भएको छ।
भेटका अवसरमा प्रमुख आयुक्त कार्कीले नेपालको समग्र विकासका क्षेत्रमा जापान सरकारले पुरयाउँदै आएको योगदान र सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । त्यस अवसरमा आयोगको संबैधानिक व्यवस्था, काम कर्तव्य र कार्य क्षेत्रका विषयमा चर्चा गर्दै प्रमुख आयुक्त कार्कीले पछिल्लो समयमा आयोगमा भएका नीतिगत र संगठनात्मक सुधारका अतिरिक्त आयोगबाट सम्पादन गरिएका महत्वपूर्ण कार्यहरुका विषयमा चर्चा गर्नु भएको थियो ।
भ्रष्टाचारजन्य अपराधले आम नागरिकहरुको आधारभूत सेवा प्राप्त गर्ने नैसगिर्ग अधिकार हनन हुने कुरालाई गम्भीरतासाथ लिने गरेको विषयमा जोड दिदैं प्रमुख आयुक्त कार्कीले सामाजिक न्यायका लागि भ्रष्टाचार र अधिकारको दुरुपयोग जस्ता विकृतिहरुलाई नियन्त्रण गर्न अनिवार्य भएको तथ्य माथि पनि प्रकाश पार्नु भएको थियो ।
भेटघाटका अवसरमा राजदूत ओगावाले हालका दिनहरुमा भ्रष्टाचार नियन्त्रणका दिशामा आयोगले देखाएको सक्रियताको प्रशंसा गर्दै त्यसका लागि अख्तिायारका प्रमुख आयुक्त कार्कीको नेतृत्वदायी भूमिकाको सराहाना गर्नु भएको थियो । त्यसैगरी राजदूत ओगावाले आगामी दिनहरुमा पनि आयोगलाई यहि गतिमा क्रियाशील रहन सफलताको कामना गर्नुभयो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जापान सरकारको भ्रष्टाचार विरुद्धको सर्वोच्च निकायहरूवीच द्विपक्षीय सम्बन्ध स्थापित गरी भ्रष्टाचार नियन्त्रणमा सहकार्य बढाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने राजदूत ओगावाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।  भेटका अवसरमा राजदूत आृगावाले भ्रष्टाचारका क्षेत्रमा दुई देश विचको सम्बन्धलाई औपचारीक रुपमै अगाडी बढाउने उदेश्यका लागि अख्तियार प्रमुख  लोक मान सिंह कार्कीलाई जापान भ्रमणका लागि  निमन्त्रणा समेत गर्नुभएको थियो।

Comments