पी सी एन् ,९वैशाख।लामोसम्म माछालाई ताजा राख्न भारतबाट नेपालगञ्जमा भित्रयाईने माछामा व्यापारीहरुले फर्मालिन नामको रसायनको प्रयोग ठूलो मात्रामा गर्ने गरेको गुनासो प्राप्त भएपछि पशु सेवा कार्यालयले स्थानीय माछा पसलहरूको अनुगमन शुरु गरेको छ ।प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकको निर्देशन बमोजिम जिल्ला पशु सेवा कार्यालयले नेपालगंजमा रहेका माछा पसलहरुको अनुगमन शुरु गरेको हो ।व्यापारीहरुले बिक्रीका लागि ल्याएका कमन, भ्याकुर, रोहु, नैनी, ग्रास र प्रयास माछामा फर्मालिन विषादीको प्रयोग बढि गर्ने गरेको पाइएको छ । फर्मालिन रसायन सेवनले मानिसको मुटु र मिर्गौलामा नकारात्मक असर गर्छ । फर्मालिन झोलमा डुबाएको माछा लामो समयसम्म ताजा देखिने भएकाले ब्यापारीहरुले यसको प्रयोग गर्दछन् । अनुगमन टोलीले मरेका माछा फर्मालिनको झोलमा डुबाउनुको सट्टा बरफमा राख्न सुझाव दिएको छ।नेपालगंज र कोहलपुरमा भारतबाट २० देखि २५ हजार किलोसम्म माछा आयात हुने गरेको छ ।
Comments
Post a Comment