पी सी एन्,८वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोक मान सिंह कार्कीसँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमका आवासीय निर्देशक रिनाउड मेयरले शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा प्रमुख आयुक्त कार्कीले नेपालको समग्र विकास र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले हाल पुरयाईरहेको सहयोगको सराहाना गर्दै आगामी दिनमा समेत भ्रष्ट्राचार विरुद्ध शून्य सहनशीलता कायम गरी सुशासन प्रबर्द्धनको अभियानमा थप सहयोग र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
भ्रष्टाचारजन्य अपराधले गाँस,बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आमनागरिकहरुको आधारभूत वस्तु तथा सेवा प्राप्त गर्ने नैंसर्गिक अधिकार हनन हुने कुरालाई गम्भीरतासाथ लिने गरेको विषयमा जोड दिदैं प्रमुख आयुक्त कार्कीले सामाजिक न्यायका लागि भ्रष्टाचार र अधिकारको दुरुपयोग जस्ता विकृतिहरुलाई नियन्त्रण गर्न अनिवार्य भएको कुरामा जोड दिनुभयो ।
कुनै पनि मुलुकको भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा युएनडीपी जस्ता संस्थाहरूको अहम भूमिका रहने भन्दै प्रमुख आयुक्त कार्कीले दातृनिकायहरूबाट प्राप्त हुने सहयोग उक्त संस्थाको आवश्यकता विश्लेषण को रणनितिक आधारमा हुनुपर्ने र सहयोग प्रदान गरिएका आयोजनाहरूमा भरपर्दो अनुगमन प्रणाली को व्यवस्था हुनुपर्ने बताउनुभयो ।
भेटघाटका अवसरमा युएनडिपीका आवासीय निर्देशक मेयरले हालका दिनहरुमा भ्रष्टाचार नियन्त्रणका दिशामा आयोगले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो । त्यसका लागि प्रमुख आयुक्तको नेतृत्वदायी भूमिकाको सराहाना गर्दै आगामी दिनहरुमा आयोगलाई अझै बढी क्रियाशिल भै कार्य गर्न सफलता मिलोस भन्ने कामना गर्नुभयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादन सुधार तथा क्षमता अभिवृद्धिको लागि आयोगले तयार गरेको रणनितिक योजनाको आधारमा सहयोग एवं सहकार्यका क्षेत्रहरुको पहिचान गरी हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Comments
Post a Comment