भुकम्प पीडितहरुलाई बर्दियाका सरकारी ,गैर सरकारी कर्मचारीले एक दिन बराबरको तलब सहयोग गर्ने , बिभिन्न निर्णय गर्दे जिल्ला विपद व्यस्थापन समितिको बैठक सम्पन्न

भगवति लामिछाने
पी सी एन्,१४वैशाख । बर्दिया जिल्लाका संघसस्था एवम् गैर सरकारी निकायमा कार्यरत वेतनधारी राष्ट्रसेवकहरुले कम्तीमा एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री
दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
साथै विपदको यस अवधीभर सबै कार्यालय प्रमुखहरुले आफ्ना मातहतका कर्मचारीहरुलाई कावू बाहिरको परिस्थिति बाहेक विदा वा काजमा नछाड्ने, विदामा बसेका वा काजमा बसेकालाई तुरुन्त कार्यालयमा हाजिर हुन निर्देशन दिने निर्णय पनि गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सो निर्णय गरिएको हो ।
बैठकले बर्दिया जिल्लाबाट काठमाण्डौ लगायतका प्रभावित जिल्लाहरु रहेका आफन्त जनहरुको अवस्थाका बारेमा जानकारी लिन सहयोग गर्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको संयोजकत्वमा प्रशासकीय अधिकृतहरु महेन्द्रजंग शाही र  डिल्लीराम आर्चाय सदस्य रहनु भएको सूचना समन्वय तथा सहजीकरण इकाई गठन गर्ने निर्णयपनि गरेको छ ।
 सो ईकाईले आफन्त जनसंग सम्पर्क गराउन केन्द्रिय आपतकालिन सञ्चालन केन्द्रसंग
समन्वय गरी २४ सै घण्टा सेवा पुरयाउन  सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनु भयो । 
भुकम्पबाट प्रभावित जिल्लामा रहनु भएकाहरुले ९८५८०२७२७१,९८५८०२४३३६, ९८४८०२८३०९ र जिल्ला प्रशासन कार्यालयको फोन नम्बर ०८४ —४२०१३३, ०८४—४२०२४५(फ्याक्स समेत), ०८४—४२००९५, ०८४—४२०१३२, ०८४—४२०२७६ मा सम्पर्क गरि अवस्था बारे जानकारी गराउन सक्नु हुनेछ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको अध्यक्षतामा सम्पन्न बैठकले सरकारी गैरसरकारी, निजि, वित्तीय सस्था, पेशागत संगठन लगायतका सवै निकायलाई भुकम्पबाट प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एभरेष्ट बैंक लिमिटेडको  ००१००१०५२००२७० र  ००१०११०२२०००१२ तथा नेपाल बैंक लि. काठमाण्डौ ००२९११९०५३३१३ को खाता नम्बरहरुमा रकम जम्मा गरि जिल्ला प्रशासन कार्यालयमा पठाउन अनुरोध समेत गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने कार्यलाई सघाउ पुरयाउने उद्देश्यले बैंक खाता तोकिएका जिल्ला स्थित बैंकहरुलाई विहान ९ बजे देखि वेलुका ६ बजेसम्म अतिरिक्त समय काम गरी रकम संकलन गर्ने व्यवस्था मिलाउन समेत बैठकले  अनुरोध गरेको छ  । साथै सहयोग रकम उक्त कोषमा जम्मा गर्ने विषयमा कुनै कुरा बुझ्नु परेमा प्रशासकीय अधिकृत महेन्द्रजंग शाही र नायब सुब्बा  दिलबहादुर पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
बैठकले देशका विभिन्न स्थानमा आएको भुकम्पमा परी ज्यान गुमाएका ब्यक्तिहरु प्रति हार्दिक श्रद्धान्जली र घाइतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ठूलो मात्रामा सम्पत्तिको क्षति भएकोमा दुःख व्यक्त गरेको छ।

यस्तै भुकम्पबाट जिल्ला स्थित विद्यालयहरुमा भएका क्षतिका सम्वन्धमा स्थलगत अवलोकन गरी जिल्ला शिक्षा कार्यालयले यथाशीघ्र जिल्ला विपद् व्यवस्थापन समितिमा प्रतिवेदन पेश गर्ने , बारुणयन्त्र, एम्बुलेन्स, हेभी इक्वीपमेन्ट, एक्स्काभेटर तथा डोजरहरु चालक तथा ईन्धन सहित तयारी अवस्थामा राख्ने निर्णय समेत बैठकले गरेको छ । 

यस्तै भुकम्प प्रभावित क्षेत्रमा घाइतेहरुका लागि रगतको अभाव हुनसक्ने हुँदा जिल्ला स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटीले समन्वय गरी रक्तदान अभियान शुरु गर्ने र दाताहरुबाट जम्मा भएको रगत नेपालगञ्ज स्थित ब्लड बैंक मा अविलम्व पुरयाउने निर्णय गरेको छ ।

जिल्लाबाट संचालन हुने यातायातका साधनहरु पुर्ववत रुपमा संचालन गरी विपदमा परेका यस जिल्लाका ब्यक्तिहरुलाई काठमाण्डौबाट फर्कन चाहेमा यातायात ब्यवसायीहरुले भरमग्दुर सहयोग गर्ने ,यातायातका साधनहरु थप गर्न आवश्यक भएमा सो समेत गर्न पहल गर्ने साथै यस जिल्लाबाट आफन्तजनका लागि खाद्यान्न लत्ताकपडा पठाउन चाहेमा सहयोग गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला प्रकोप व्यवस्थापन समितिले २०७१ साल साउनमा आएको बाढीको विपद्बाट भत्किएका सडक,कल्भर्ट र पुलहरुको मर्मत तथा पुर्नःनिर्माण एवम् राहत वितरणका कार्यहरु सम्वन्धित निकायहरुले तोकिएकै समय सिमा भित्र अनिवार्य रुपमा सम्पन्न गर्ने गरी तदारुकताका साथ कार्य गर्न निर्देशन पनि दिएको छ ।

बैठकले स्वास्थ्य, खानेपानी, दुरसंचार, विद्युत लगायतका अत्यावश्यक सेवालाई नियमित रुपमा सूचारु गर्न सम्वन्धीत निकायहरुले सजगता अपनाउने निर्णय पनि गरेको छ ।
यस्तै दैनिक उपभोग्य खाद्यान्न, इन्धन लगायतका बस्तुहरु सर्वसाधारण उपभोक्तालाई सहज ढंगले नियमित रुपमा उपलव्ध गराउन पनि सम्पुर्ण उद्यमी व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ मार्फत बैठकले अनुरोध पनि गरेको छ ।
यस्तै विपद्को अवस्था थप जटिल हुन सक्ने सम्भावना अझै रहेको हुँदा सुरक्षा निकाय, सरकारी कार्यालयहरु, राजनैतिक दलहरु नेपाल रेडक्रस सोसाईटी, गै.स.स., नागरिक समाज, उद्योग बाणिज्य संघ सवै पक्षले उद्धार समाग्रीहरु, निकायगत क्षमता र खटिन सक्ने जनशक्तिको आँकलन गरी परिचालनको तयारी अवस्थामा रहने,विपदसंग सम्वन्धित सूचना, तथ्याङ्क तथा कुनै जानकारी विपद् व्यवस्थापन समितिबाट पुष्ट्याई गरेर मात्र सञ्चार माध्यमले सम्प्रेषण गर्ने, केन्द्रीय दैवी प्रकोप उद्धार समिति, गृह मन्त्रालय, जिल्ला दैवी प्रकोप उद्धार समितिले जनहितका लागि जारी गरेका जानकारी मूलक सूचना सम्प्रेषणमा प्राथमिकता दिने लगायतका निर्णयहरु पनि बैठकले गरेको छ ।

Comments