क्षितिज पौडेल
पी सी एन् ,३वैशाख । भारत सरकारका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोगार्थ उपलव्ध गराईएका सवारी साधनहरू बिहीबार एक समारोहका वीच हस्तान्तरण गरिएको छ । आयोग परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदुत रञ्जित रे ले आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सवारी साधनको साँचो प्रदान गर्नु भयो ।
प्रमुख आयुक्त कार्कीले आयोगलाई प्राप्त सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्नु भयो । साथै यस किसिमको सहयोगबाट आयोगलाई भ्रष्टाचार विरुद्दको अभियानमा अझ सशक्तरुपमा लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख आयुक्त कार्कीले यसका लागि महामहिम राजदुत रे लाई विशेष धन्यवाद दिनुभयो । सम्बोधनकै क्रममा प्रमुख आयुक्तले आयोगमा कार्यरत कर्मचारीहरूको क्षमता विकासका लागि भारत सरकारबाट हाल सालै प्रदान गरेको तालिमका लागि समेत धन्यवाद व्यक्त गर्नु भएको थियो ।
नेपाल र भारत विच सदियौं देखि रहदै आएको आर्थिक सामाजिक सम्बन्ध र समानताका कारण एक अर्काबाट परस्पर सिक्न सकिने प्रचुर संभावना रहेको र भ्रष्टाचार विरुद्धको अभियानमा दुई मुलुकका संस्थाहरूवीच सहकार्य र साझेदारी अभिवृद्धी गर्न सकिने धारणा व्यक्त गर्दै यस किसिमको सहयोगको आदानप्रदानले आगामी दिनहरूमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले नेपालमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्न हालका दिनहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कार्यको प्रंशसा गर्दै यस्तो कार्यमा भारत सरकारका तर्फबाट सानो सहयोग गर्न पाउँदा भारत सरकार खुसी रहेको र आफूमा गौरवको अनुभूति भएको विचार व्यक्त गर्नु भयो ।एउटा असल छिमेकीको रुपमा भारतले सधैं नेपालको उन्नती र प्रगति चाहेको, जसका लागि हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको धारणा व्यक्त गर्नुभयो ।
आयोगका पदाधिकारी, कर्मचारीहरू तथा नेपालस्थित भारतीय राजदुतावासका प्रतिनिधीहरू समेतको सहभागिता रहेको उक्त समारोहमा प्रमुख आयुक्त कार्की र राजदुत रे ले संयुक्तरुपमा रिवन काटी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो भने कार्यक्रममा आयोगका सचिव श्रीधर सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Comments
Post a Comment