पी सी एन,३० वैशाख । राज्यबाट प्रदान गरिने सेवाहरु नागरिकलाई जनताको घरदैलोमा नै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाका दुई स्थानमा दुई चरणमा घुम्ति सेवा शिबिर सञ्चालन गर्ने भएको छ ।
पहिलो चरणमा जेठ २ गते बांसगढी नगरपालिका वडा नं १ चेपांगमा रहेको नेपाल राष्ट्रिय निमावि परिसरमा र दोस्रो चरणमा जेठ ९र १०गते पशुपतिनगर गाविसको पशपति उच्च मावि परिसरमा घुम्ती शिविर संचालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजना र जिल्लास्थित सरकारी कार्यालयहरुको व्यवस्थापनमा सो शिविर संचालन गर्न लागिएको हो । घुम्ती शिविर संचालनका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लास्थित सरकारी कार्यालयहरु यतिबेला आवश्यक तयारीमा पनि जुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरको अध्यक्षतामा बसेको बैठकले जनतालाई घरदैलोमा सेवा प्रदान गर्ने उद्देश्ययले शिविर संचालन गर्न लागेको हो ।
शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण सेवा,जि वि स ले बालमैत्री स्थानीय शासन सम्बन्धि सचेतना,जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले बिरामी जांच ,उपचार तथा स्वास्थ्य परामर्श सेवा,जिल्ला कृषि विकास कार्यालयले कृषि सम्बन्धि सचेतना तथा बीउ बीजन बितरण सेवा,जिल्ला पशु सेवा कार्यालयले पशु उपचार सेवा,जिल्ला निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन सेवा,डिभिजन सहकारी कार्यालयले सहकारी दर्ता र नवीकरण सेवा , खानेपानी सव डिभीजन कार्यालयले हात धुने डेमो प्रर्दशन सेवा,महिला तथा बालबालिका कार्यालयले अपांग परिचय पत्र बितरण तथा महिला हिंसा नियन्त्रणका लागि सचेतना कार्यक्रम र रेडक्रसले आंखा उपचार सेवा प्रदान गर्ने सहायक प्रजिअ पौडेलले बताउनु भयो ।
घुम्ती सेवा सकिए लगतै सेवाको प्रभावकारिता बुझन सार्वजनिक सुनुवाई कार्यक्रम पनि संचालन गरिने प्रशासनले जनाएको छ ।
घुम्ती सेवा शिविर संचालनका लागि आवश्यक पर्ने स्रोत ,साधन र जनशतिm सम्बन्धित कार्यालयले आफनो वार्षिक कार्यक्रमबाट खर्च व्योहर्ने गरि व्यवस्थापन गर्ने छन् ।
Comments
Post a Comment