पी सी एन
बर्दिया,८साउन । नेकपा माओवादीले आज विहान पूर्वपश्चिम राजमार्गको खासकुश गाविस वडा नम्बर ४ स्थित चौरीजंगलमा मान्छे बसेको ट्रकमा आगजनी गरेका छन् । टायर पञ्चर भएर बनाइरहेको बेला माओवादी कार्यकर्ताले ना ५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।चितवनको नारायणगढबाट दार्चुला बियर बोकेर जाँदै गरेको ट्रकमा आज विहान साढे ५ बजे आगजनी गरिएको हो । ट्रकभित्रै रहेका दार्चुला भगवनी गाविस १ का गौरसिंह बोहेरा जलेका छन् । बोहोराको अवस्था अहिले सामान्य रहेको कोहलपुरका डीएसपी टिकाबहादुर केसीले जानकारी दिए ।
बन्दकर्ताले नेपालगञ्जबाट भारतको रुपैडिया विद्यार्थी बोकेर जाने यूपी ४० टी ०७६३ नम्बरको स्कुल भ्यानमामा आगजनी गरेका छन् । विहान ६ बजे नेपालगञ्जको स्नेहा होटल नजिक ४–५ जनाको संख्यामा आएका माओवादीहरुले भ्यानमा आगो लगाएका हुन् ।
बन्द गराउँदै हिँडेका विप्लव माओवादीका कार्यकर्ताहरुले नेपालगन्ज वसपार्कमा रोकिराखेका २ वटा बसमा आगो लगाएका हुन् । बसपार्कमा राखिएका भे १ ख ८०९ र भे १ ख ८५८ नम्बरका दुई बस माओवादी कार्यकर्ताले जलाएका भेरी अञ्चल यतायत व्यवसायी संघका डेकनाथ गौतमले जानकारी दिए । आगजनीबाट दुवै बस पुर्णरुपमा ध्वस्त भएका छन् । विहान साढे १० बजेर तिर पार्किङ गरेर राखेका ती बस जलाइएको हो । दुवै बस १० दिनदेखि बसपार्कमै राखिएको थियो । नेपालगन्ज बैजापुर र नेपालगन्ज फत्तेपुर चल्ने दुवै बस वर्षाका कारण बाटो अवरुद्ध भएकाले बर्सपार्कमै पार्किङ गरिएको उनले बताए । पार्क गरिएका बस जलाइनु निन्दनीय कार्य भन्दै उनले राज्यले यसको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नुे बताए । ‘पुराना बस भएकाले बिमासमेत हुँदैन’, अध्यक्ष गौतमले भने, ‘त्यस कारण राज्यले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’
यसैगरी, पूर्वपश्चिम राजमार्गको मदनचोकमा जीप तोडफोड भएको छ ।
Comments
Post a Comment