कैलालीको टिकापुरमा हिंसा, हिंसामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित पाँचजना नेपाल प्रहरी, दुईजना सशस्त्र प्रहरी तथा एक दुई वर्षीय बालकको ज्यान गएको ,व्यस्थापिका संसदले सबै पक्षलाई एकता र सद्भाव प्रदर्शन गर्न आह्वान गरयो

 पी सी एन्
बर्दिया,८ असार । सात प्रदेशको सीमांकनसहित तयार पारिएको संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाले छलफलको तयारी थाल्दा कैलालीको टिकापुरमा सोमबार भएको हिंसामा आठ जना मारिएका छन्।
टिकापुरको हिंसामा थरूहट समर्थक आन्दोलनकारीहरू र प्रहरीबीचको झडपमा कम्तीमा आठजनाको ज्यान गएको प्रशासनले पुष्टि गरेको छ। हिंसामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित पाँचजना नेपाल प्रहरी, दुईजना सशस्त्र प्रहरी तथा एक दुई वर्षीय बालकको ज्यान गएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए। अञ्चल प्रहरी प्रमुख न्यौपानेले भीडलाई सम्झाइरहेको बेला पछाडिबाट भाला प्रहार गरिएको बताइएको छ । करीब ३ ∕४ घन्टा भएको दोहोरो झडपमा जनपद प्रहरीका तर्फबाट १७ जना र सशस्त्र प्रहरीतर्फबाट २१ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। 
मृत्यु हुने अन्य प्रहरीहरुमा  प्रहरी निरीक्षकद्धय बलराम विष्ट र केशव बोहरा, हवल्दार केशव जोशी, जवानहरु लोकेन्द्र चन्द, तेजबहादुर खड्का, सशस्त्र प्रहरीका हवल्दारद्धय रामविहारी चौधरी र ललित साउद रहेका छन् । यस्तै, सशस्त्र प्रहरीका हबल्दार रामविहारी चौधरीलाई जिउँदै आगो लगाइएको थाहा भएको छ । आक्रमणकारीले स्थानीय नेत्रबहादुर साउदको घरमा प्रवेश गरी उनका दुई वर्षीय छोराकोसमेत गोली हानी हत्या गरेका छन् । साउदका भाई सशस्त्र प्रहरीमा रहेको बताइएको छ ।
थरूहट समर्थक आन्दोलनकारीहरू तर्फ पनि दुई दर्जन भन्दा बढि घाईते भएको र आधा दर्जन जतिलाई गोली लागेको र उनीहरुको अवस्था अज्ञात रहेको लक्ष्मण थारुले बताए । 
टिकापुरमा भएको तनावपछि सरकारले तराईका कतिपय जिल्लामा दंगा फैलिन सक्ने खतरा रहेको भन्दै शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनलाई सेना परिचालन गर्न अधिकार दिने निर्णय गरेको छ। टिकापुरमा चाहिँ दंगाग्रस्त क्षेत्र घोषणा गरेर त्यहाँ सेना परिचालन भईसकेको छ ।अहिले टिकापुरको अवस्था सामान्य छ । 
 घटनाको निन्दा गर्दै व्यस्थापिका संसदले सबै पक्षलाई एकता र सद्भाव प्रदर्शन गर्न आह्वान गरेको छ। सभामुख सुवास नेम्वाङले सोमबार साँझ बसेको संसदको बैठकमा प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो।प्रमुख दलहरुले सीमाङ्कनबारे गरेका सहमतिको विरोधमा भइरहेका प्रदर्शनको हालसम्मकै उग्र रुप सोमबार टिकापुरमा देखिएलपछि सोमबार साँझ बसेको संसदको बैठकले त्यसको निन्दा गरेको हो।
व्यवस्थापिका संसदको यो बैठक सबै नेपाली दिदी, बहिनी, दाजुभाई, नगरिक समाज, राजनीतिक दललाई समाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन हार्दिक अपिल गर्दछ सुवास नेम्वाङ्गद्धारा जारि विज्ञप्तीमा भनिएको छ ।  उक्त घटनाले संसदलाई स्तब्ध तुल्याएको भन्दै सभामुख नेम्वाङले संविधान निर्माण पुरा हुने चरणमा व्यक्त भइरहेका असन्तुष्टि हिंसात्मक रुपमा अभिव्यक्त हुन नहुनेमा जोड दिए।सबै पक्षलाई धैर्य धारण गर्न अनुरोध गर्दै उनले भने, “व्यवस्थापिका संसदको यो बैठक सबै नेपाली दिदीबहिनी, दाजुभाइ, नागरिक समाज, राजनीतिक दललाई सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन हार्दिक अपिल गर्दछ।“

Comments