पी सी एन्
बर्दिया,२८मंसीर। महिलाको समानुपातिक समावेशी प्रतिनिधित्वकरण बिषयक दुई दिने अभिमुखिकरण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ।
अन्तर पार्टी महिला संजालकी केन्द्रिय अध्यक्ष प्रतिभा राणा र महासचिव नीलम बर्माको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा महिला अधिकारको पक्षमा संविधानमा भएका व्यवस्थाहरुको बारेमा अभिमुखिकरण गराईएको थियो।
अन्तर पार्टी महिला संजाल बर्दियाकी अध्यक्ष पुनकला श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायधीश लोकजंग शाह,स्थानीय विकास अधिकारी तेजराज शर्मा,नेपाली कांग्रेस बर्दियाका कार्यवाहक सभापति मिश्रीलाल यादव,समाजवादी फोरमका कृष्ण यादव,सद्भावना पार्टीका अध्यक्ष धनेश यादव,तमलोपाका केशव यादव लगायतले महिला अधिकारका लागि अन्तर पार्टी महिला संजाल जिल्ला शाखा बर्दियाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा वक्ताहरुले महिलाहरु आर्थिक रुपले आत्मनिर्भर भएमा घर परिवारबाट हुने तनाव तथा हिंसामा कमि आउने बताउदै राज्यको हरेक निकायमा पंहुच र नियन्त्रण बढाउन महिलाहरुले आफनो शिक्षा,शिप तथा प्राविधिक ज्ञान बढाउनु पर्ने बताए।
सो अवसरमा कार्यक्रमका सहभागीहरुले कुनै पनि निर्वाचनमा कम्तीमा पचास प्रतिशत प्रतिनिधित्व हुने गरि महिलाहरुलाई निर्वाचनमा उम्मेदवार बनाउन मांग पनि गरेका छन् ।
दुई दिने अभिमुखिकरण कार्यक्रममा जिल्लाका ६०जना महिला पुरुषहरुको सहभागिता थियो।
Comments
Post a Comment