भयरिहत रुपमा मतदान गर्न शान्ति सुरक्षा लगायतको तैयारी पुरा,आवश्यकता अनुसार हेलिकप्टर समेत प्रयोग गरिने

पी सी एन

बर्दिया,३१जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा बर्दियाका २ लाख ५३ हजार १ सय ८५ मतदातालाई भयरहित रुपमा आफुले रोजेको उम्मेदवारलाई भोट हाल्न र फर्कने वातावरण तयारका लागि सुरक्षा व्यबस्था चुस्तदुरुस्त  सुदृढ पारिएको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।उनीहरुले मतदाता र निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी,नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना मात्र नभई आवश्यकता अनुसार हेलिकप्टर समेत प्रयोग गरिने बताए। जिल्ला निर्वाचन कार्यालयको अन्तरकृयामा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले निर्वाचनको समयमा शान्ति सुरक्षा सुव्यबस्थित पार्न म्यादी प्रहरीदेखि लिएर नेपाली सेनासमेत प्रयोग गरिने बताउदै त्यसका लागि मातहतका सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिई सकिएको स्पष्ट पारे।निर्वाचनका समयमा कुनै पनि अपराधिक तथा अवान्छित गतिविधि र कृयाकलाप हुन नदिन जिल्लामा १हजार ६ सय बढि म्यादी प्रहरी, १हजार १सय बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले बताए । निर्वाचनको समयावधिका लागि  रिजर्भ फोर्सको ब्यबस्था समेत ब्यवस्था गरिएको बताउदै उनले निर्वाचन सुरक्षामा मोवाइलगस्ती,गाडी तथा मोटरसाइकल गस्ती सबै प्रयोग गरिने प्रष्ट पारे। सशस्त्र प्रहरी कार्यालयले पनि सबै नगर तथा गाउँपालिकासम्म आफनो तर्फबाट सुरक्षाको भरपर्दो ब्यबस्थाको मिलाएको बताएको छ।नेपाली सेनाका सेनानी पृथ्वीबहादुर थापाले बर्दियाका सबै गांउपालिकामा नेपाली सेनाको अस्थायी क्याम्प राखिने बताए । उनले निर्वाचन स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने र शान्ति सुरक्षाको स्थितिलाई हेरेर निर्वाचनका समयमा हेलिकोप्टरसमेत प्रयोग गर्ने बताउँदै त्यसका लागि नेपालगञ्जमा हेलीकप्टर समेत तयारी अवस्थामा राखिएको स्पष्ट पारे।मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले निर्वाचनका लागि जिल्लामा सम्पुर्ण तैयारी पुरा भएको बताए । मनोनयन दर्ता, मतदान र मत गणना बाहकेका अरु सबै काम पुरा भएको उनले बताए ।६ नगरपालिका र दुई गाउँपालिका गरी आठ वटा स्थानीय तहमा १सय ५३ वटा मतदान स्थलमा ३ सय १४ वटा मतदान केन्द्र तोकिएको र जिल्लामा १८ सय ८४ जना कर्मचारी खटाउने जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले बताए।

Comments