मधेसी समुदाय चुनाव बहिस्कारको पक्षमा छैन

अनुप यादव, मेयर उमेदवार, गुलरिया नगरपालिका


१२ वटा वडा र करिब ३४ हजार मतदाता रहेको बर्दियाको गुलरिया नगरपालिकामा २७ वर्षे अनुप यादवले तहल्का मच्चाइरहेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबाट उमेदवार बनेका यादव अहिले चुनाव चिह्न भन्दा पनि सामाजिक सद्भावको झन्डा बोकेर मैदानमा खटिएका छन् ।गुलरियाको सामाजिक आन्दोलनको अगुवाइ गरेका यादवले एक वर्षअघि नगरपालिकाको कर घटाउन अहम् भूमिका खेलेका थिए । तिनै यादवसँग चुनाव प्रसार–प्रसारको दौडधूपमै बाह्रखरीले संक्षिप्त कुराकानी गरेको थियो । 

निर्वाचनको तयारी कस्तो छ ? 
निर्वाचनको तयारी सुदृढ ढंगबाट भइरहेको छ । २० वर्षपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि जनतामा उत्साह सञ्चार भएको पाएका छौँ । कतिखेर मत खसालौँ भन्ने उत्सुकता उहाँहरूमा रहेको मैले पाएको छु ।
गुलरिया नगरपालिका उल्लेख्य मधेसी समुदाय रहेको ठाउँ पनि हो, राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कारको नीति लिइरहेको छ ।

उनीहरूको चाहिँ कत्तिको प्रभाव छ  ?
गुलरिया नगरपालिकामा राजपाको प्रभाव खासै देखेको छैन मैले । मधेसी जनता चुनाव बहिस्कारको पक्षमा छैनन् । स्थानीय तह निर्वाचन स्थानीय विकासको लागि हो । चुनाव बहिस्कार गर्नु भनेको विकास बहिस्कार गर्नु हो ।
त्यसका अतिरिक्त संघीय समाजवादी पार्टीको पनि खासै प्रभाव ठाउँ त यो होइन । गुलरिया मधेसी बाहुल्यता क्षेत्र भएकाले मधेसी समुदायकै उमेदवार मतदाताको प्राथमिकतामा पर्दछन् । त्यसको कारण भनेको, मधेसवादको सेन्टिमेन्ट प्रत्येक घर–घरमा रहेको छ ।

युवाको राजनीतिप्रति एक किसिमको विकर्षण छ । तपाईं २७ वर्षको युवा हुनुहुन्छ, नगरपालिकाको प्रमुखमा किन उमेदवारी दिनुभयो ? 
म उमेरले भर्खर २७ वर्षको भएँ । राजनीति मैले विरासतमा पाएको हुँ । रामआधार यादव मेरा हजुरबुबा यसै ठाउँमा पञ्चायतकालमा प्रधानपञ्च हुनुहुन्थ्यो । तर, त्यसपछाडि हाम्रो परिवार राजनीतिमा सक्रिय भएन । २० वर्ष खाली रह्यो । त्यो रिक्तता पुर्न र समाजसँग आफूलाई जोड्न राजनीतिमा होमिएको हुँ ।खासगरी संविधान–०७२ जारी भएपछि सामाजिक सद्भाव विशृंखलित बन्न पुग्यो । पारस्परिक सहयोग, सहृदयता र सद्भावमा आँचको आएको महसुस गरेँ मैले ।समुदाय–समुदायबीच जुन किसिमको खाडल छ, त्यो खाडल पुर्न नै मैले उमेदवारी दिएको हुँ । उमेदवारी दर्तापछि म अहिले गाउँ–गाउँ गएर सामाजिक सद्भाव अभिवृद्धिको कुरा गरिरहेको छु । गुलरियामा सामाजिक सद्भाव कसरी कायम गर्न सकिन्छ भन्नेमा म हरबखत चिन्तित छु ।

यो आवश्यकता कसरी महसुस गर्नुभयो ?
सामाजिक सद्भाव विकासको पहिलो सर्त हो, कडी हो । स्थानीय तहको विकास एकअर्काबीच पारस्परिक सहयोग, सहभागिता बिना असम्भव हुन्छ । एउटा जाति, समुदाय, सम्प्रदायबीच सधैँ बेमेल र झै–झगडा हुँदा विकास कसरी हुन्छ र ?  त्यसैले अहिले हामी चुनाव प्रचार–प्रसार भन्दा पनि सामाजिक सद्भाव अभिवृद्धिको कार्यक्रम गरिरहेका छौँ ।

मधेस आन्दोलनले पछाडि परेका समुदायको वृद्धि विकासमा कत्तिको सघाएको पाउनुभयो तपाईंले ?
आन्दोलनले राजनीतिक रूपमा उत्थान त भयो । सामाजिक उत्थान बाँकी छ । अधिकार कागजमा पाएका छन् । तर, त्यसको कार्यान्वयन हुन बाँकी छ । अधिकार पाएको कुरा नेताले मात्रै महसुस गरेका छन्, जनताको तहमा पुगेको छैन ।
अर्को कुरा भनौँ, जसरी स्थानीय तह बनाइयो । यो के हो भनेर जनताले बुझेकै छैनन् । ६ महिनाजति विभिन्न कार्यक्रम गरेर जनतालाई बुझाउनुपथ्र्यो । यो काम सरकारको थियो, निर्वाचन आयोगको थियो । स्थानीय तहको अधिकार, कार्य क्षेत्र आदिका बारेमा जनतालाई सुसूचित गर्नुपथ्र्यो । त्यो हुन सकेन । अहिले हामी त्यो काम गरिरहेका छौँ ।

गुलरिया नगरको विकासका लागि अरू के योजना अघि सार्नु भएको छ ?
यो भारतसँगको सीमावर्ती क्षेत्र रुपैडिया नाकाको ‘उपनिवेश’ ठाउँ हो । केही काम पर्यो भने त्यहाँ नगई उपाय नै छैन । गुलरिया–मूर्तिया नाका मन्त्रिमण्डलबाट पास भएर सञ्चालनमा आउने प्रक्रियामा छ । रेञ्जर फोर्सको स्वीकृति लिन बाँकी छ । त्यसको स्तरवृद्धि हाम्रो पहिलो लक्ष्य हो । बोर्डरमा धेरै मधेसी समुदाय बस्छन् । दुवैतर्फ बिहाबारी हुन्छ । निकै समस्या भएपछि केही समयअघि हामीले त्यहाँ सामान्य ट्र्याकसम्म खोल्न सकेका छौँ । चुनावलगत्तै डेलिगेसन गएर बोर्डर खुलाउन लाग्नेछौँ । नाका खुलेपछि बर्दियाको वृद्धिविकासमा त्यसले टेवा पुर्याउँछ ।
अर्को कुरा, यो बबई नदीले गुलरियाको थुप्रै भू–भाग डुबाउँछ । हरेक वर्ष त्यसले घरबार विहीनको संख्या दोब्बर बनाउँछ । त्यसको निदानका लागि बैज्ञानिक तटबन्ध निर्माण गर्नुपर्यो या त डाइभर्सन गर्नुपर्यो । नगरपालिकाको बजेटले मात्र नभ्याउन सक्छ । राष्ट्रिय बजेटको व्यवस्था गर्नुपर्छ ।यहाँ सदियौँदेखि सुकुम्बासी, मुक्त कमैयाको समस्या छ । थुप्रै ऐलानी जमिन छ । सुकुम्बासीहरूले एकधुर जग्गा पाएका छैनन् । हरेक चुनावमा उनीहरूको भोटले उमेदवार सत्तामा पुग्छन् । तर, सधैँ उनीहरू वेवास्ताको सिकार हुन्छन । सुकुुस्बासीका मसिहाहरू छन्, तिनले भोट बेच्छन् । सुकुम्बासीका ठेकेदारहरू निकै धनाढ्य छन् । गुलरिया नगरपालिकालाई एक वर्षभित्र सुकुम्बासी मुक्त जिल्ला बनाउने मेरो अभियान हो ।कृष्णसार संरक्षण क्षेत्र गुलरिया नगरपालिकाको अर्को आकर्षण हो । कृष्णसार संरक्षण क्षेत्रको कारण बर्दिया जिल्ला विश्वमै चिनिन सफल भएको छ ।संरक्षण क्षेत्र घोषणा गर्दा त्यहाँका  जनता पीडामा परेका छन्, मर्कामा परेका छन् । संरक्षण क्षेत्र बनाउँदा किसानका चरन क्षेत्र तारबारमा परेको छ । बाटोघाटोको समस्या छ । सिमान्तकृत, विपन्न, पछौटे जीवन बाँचिरहेका मधेसी समुदायलाई अगाडि नल्याई गुलरिया नगरपालिकाको विकास सम्भव छैन ।तराई–मधेसमा चुनावको बेला दुई–चार थान ट्रान्सफर्मर झारिन्छ । यहाँ पनि त्यसै गरिँदैछ भन्ने सुनेको छु । चुनावको बेला मात्रै १५–२० वटा ट्रान्सफर्मर दिने र अरू बेला निदाउने गर्नु भएन ।एक वर्ष पहिला गुलरिया नगरपालिकामा अचानक कर बढाइयो, एकदम अवैज्ञानिक कारणले । दुई सय रुपैयाँ कर तिरे पुग्नेले झन्डै  हजार रुपैयाँ तिर्नुपर्यो । सम्पत्ति कर, जग्गा जमिनको राजश्व सबै बढ्यो ।बाटोमा जग्गा जोडिएकाले त करै तिर्न नसक्ने अवस्था बन्यो । फोहोर, पानीको पैसा उठाइयो । तर, न पानी दिइयो, न फोहोर लिन नै नगरपालिका आयो । त्यसबाट विरक्तिएर हामी केही युवाले आन्दोलन सुरू गर्यौँ ।चिया खाएर, सडकमा नेतालाई गाली गरेर केही हुँदैनथ्यो । बाध्य भएर नगपालिकाले घुँडा टेक्यो र सम्पत्ति कर सच्यायो ।निर्वाचनमा उठ्न पाउने सबैको अधिकार हो । 
गुलरिया नगरमा ९ जना मेयर, ९ जना उपमेयर उठेका छन् । तर, कसैको प्रष्ट भिजन छैन । एमालेले त यसभन्दा अघि नगरमा जितेकै हो ।हरि ज्ञवाली उपमेयरै हुनुहुन्थ्यो । उहाँले केही गर्न सक्नुभएन । अरूले पनि जनतामा परिवर्तनको पत्याभूति दिलाउन सक्नुहुन्न । त्यसैले यहाँको मतदाताको आकर्षण ममा देखिएको छ ।

Comments