बर्दियाका ६ स्थानीय तहका नव निर्वाचितहरुलाई शपथ गराईयो

पी सी एन
बर्दिया २१ असार । स्थानीय तह निर्वाचन २०७४मा निर्वाचितहरुलाई बिहीबार बर्दियामा प्रमाण प्रमाण पत्र प्रदान गर्नुका साथै उनीहरुलाई पद तथा गोपनीयताको  शपथ ग्रहण गराईएको छ । साथै उनीहरुले आजैबाट आफनो पदभार समेत ग्रहण गरेका छन् ।
जिल्लाका आठ स्थानीय तह मध्ये ६ तहमा बिहीबार शपथ ग्रहण र  पदभार कार्यक्रम सम्पन्न भएको छ ।
बर्दियाको गुलरियामा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले र  मधुवन,राजापुर , बारबर्दिया ठाकुरबाबा नगरपालिका , गेरुवा गाउपालिकामा सम्बन्धित तहका निर्वाचन अधिकृतहरुले निर्वाचित मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष  तथा वडा अध्यक्षहरुलाई प्रमाणपत्र बितरण गर्नुका साथै र  शपथ ग्रहण पनि गराएका हुन।
सांसदहरु,राजनैतिक दल,संचारकर्मी ,सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्वाचित सबै पदाधिकारीले ईश्वर, देश र जनताका नाममा शपथ ग्रहण गरेका छन् ।
बर्दियाको सबैभन्दा पुरानो गुलरिया नगरपालिकामा निर्वाचित प्रमुख मुक्तीनाथ यादव र उपप्रमुख सुशीला गिरी र १२ वटै वडाका वडा अध्यक्षहरुलाई मुख्य निर्वाचित अधिकृत कुलप्रसाद शर्माले स्थानीय समन्वय समितिको हलमा अयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। विभिन्न वडाबाट निर्वाचित सदस्यलाई भने नवनिर्वाचित मेयर मुक्तीनाथ यादवले शपथ ग्रहण गराएका हुन ।
मधुवन नगरपालिकामा पनि बिहीबारै पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छ । नवनिर्वाचित  प्रमुख गणेश के सी र उपप्रमुख शुभरानी थारुले पद तथा गोपनीयताको शपद ग्रहण गर्नुभएको हो । मधुवन नगरपालिकाका निर्वातन अधिकृत भीम कुवरले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नगरपालिकाका सबै वडाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।
राजापुर नगरपालिकामा निर्वाचित मेयरमा निर्वाचित शिवकुमार चौधरी र उपमेयरमा निर्वाचित मनकला चौधरी र वडा  अध्यक्षहरुलाई निर्वाचन अधिकृत गञ्जबहादुर एम सी ले राजापुरमा  पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । राजापुरमा पनि आजै पदभार ग्रहण गरेको खबर छ ।
बार बार्दियामा पनि नव निर्वाचित मेयर दुर्गाबहादुर थारु ,उपमेयर अन्जु दहित र १० वटै वडाका वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत लक्ष्मीप्रसाद सापकोटाले शपथ ग्रहण गराउनु भयो भने वडा सदस्यहरुलाई मेयर दुर्गाबहादुर थारुले शपथ गराउनु भयो । शपथ ग्रहण गरेका उनीहरुले आजै पदभार ग्रहण गरेका छन्।
शपथग्रहण समारोहमा राजनैतिक दलका  प्रमुख तथा प्रतिनिधि,नागरिक अगुवा,सर्वसाधरण,सञ्चारकर्मी,सरकारी एंव गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
ठाकुरबाबा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ गौतमले सो नगरपालिकाका नवनिर्वाचित मेयर घननारायण  श्रेष्ठ र उपमेयर कृष्णकुश्मा थारु र वडा अध्यक्षलाई पनि शपथ खुवाए भने मेयर श्रेष्ठले वडा सदस्यहरुलाई शपथ खुवाएका छन्।
गेरुवा गाउपािलकाको नवनिर्वाचित अध्यक्ष जमानसिंह के सी,उपाध्यक्ष हिमाकुमारी थारु र वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत देवराज भारतीले र वडा सदस्यहरुलाई अध्यक्ष के सीले बिहीबार नै  शपथ गराउनु भएको छ ।
शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयरहरुले सबै दल र नागरिकहरुसंग हातेमालो गर्दे आ–आफनो नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरुले थारु,मधेशी ,महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने बताएका छन् ।
बढैया ताल गाउपालिकाको लागि शपथग्रहण शुक्रबार र बांसगढी नगरपालिकाका लागि शनिवार शपथ कार्यक्रम तय भएको छ ।


Comments