प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरेको छ ः सिचाई मन्त्री गौतम

पी सी एन
काठमाडौं,१४साउन। सिचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् । उनले भने, ‘एकै चरणमा निर्वाचन गर्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको छ, सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं ।’ उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागिपरिरहेको बताए ।
एक कार्यक्रममा बोल्दै उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे,‘एकै चरणमा निर्वाचन गराउँदा खर्च कम लाग्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसक्नु भएको छ यसबारेमा आयोग पनि सकारात्मक छ, अन्य पार्टीहरुसँग पनि सर–सल्लाह गरेर एकै चरणमा निर्वाचन गराउने गरि छिट्टै मिति घोषणा हुन्छ, सोहीअनुसार सरकार तयारी अवस्थामाछ, सरकारले चाह्यो भने किन नहुनु ?निर्वाचन एकै चरणमा गर्न संभव छ ।’
उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमान्दार प्रयास गरिरहेको जनाए । उनले भने, ‘राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको छ, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उहाँहरुलाई सहभागी गराउन हामी ईमानदार भएर लागि परेका छौं।’ राजपाकै मागबमोजिम सरकारले नीतिगत रुपमा संशोधन प्रस्ताव सदनमा पेश गरेको स्पष्ट पारे ।
मन्त्री गौतमले भने, ‘हामीसँग संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई मत छैन, त्यसैले प्रस्ताव भोटिङमा गए यसको रिजल्टलाई सबैले स्विकार गर्नुपर्छ ।’

Comments