Skip to main content
बांके र बर्दियामा बाघ दिवस मनाईयो, दुई जिल्लामा बाघको संख्या ७५ भन्दा बढि पुग्यो
पी सी एन
बर्दिया,१४साउन । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस बांके र बर्दियामा विविध कार्यक्रम गरि मनाईएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कार्यक्रम बमोजिम बर्दिया र बांके राष्ट्रिय निकुञ्जमा छुट्टाछुट्टै कार्यक्रम गरि बाघ दिवस मनाईएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारामा आयेजित बाघ दिवस कार्यक्रमलाई सम्बोधन गर्दे निमितm प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले सन् २०२० सम्म बाघको संख्या दोब्बर बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१६मा बनाएको बाघ संरक्षणसम्बन्धी रणनीतिक योजना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जले बाघको संरक्षण सम्वद्र्धनका लागि सचेतना, बाघको सुरक्षा तथा व्यवस्थापन कार्यलाई संगसगै लिएर हिडेको बताए। उनका अनुसार सन् २०१३ मा गरिएको बाघ गणनाबाट बर्दिया निकुञ्जमा पाटेबाघको संख्या बढ्दै गएर १६ वटा भाले र ३४ वटा पोथी गरी ५० वटा बयस्क पाटेबाघ रहेको छ भने सन् २०१६ मा गरेको बाघ अनुगमनबाट बर्दिया निकुञ्जमा पाटे बाघको संख्या ६२ भन्दा बढी रहेको अनुमान छ ।
उता बांके राष्ट्रिय निकुञ्जले पनि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालय कोहलपुरमा विविध कार्यक्रम गरि बाघ दिवस मनाएको छ ।
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि संरक्षणप्रेमी,उपभोक्ता,निकुञ्जका कर्मचारी समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बांके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन र राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम संयोजक अम्बिका खतिवडाले बाघको अवस्था र बांके राष्ट्रिय निकुञ्जको व्यवस्थापन कार्ययोजना बारे प्रस्तुतीकरण गर्नुभएको थियो । पछिल्लो अनुगमन अनुसार बांके निकुञ्जमा १३वटा बयस्क बाघ रहेकोे बताईएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा पाटेबाघलाई नेपालको संरक्षित वन्यजन्तुमा सुचिकृत गरी बाघ मार्न, वा कुनै पनि अंग ओसारपसार गर्न, ब्यापार गर्न र घरमा राख्न प्रतिबन्ध लगाइएको छ । बाघ मार्ने कार्यमा संलग्न हुने ब्यक्तिलाई ५ लाखदेखि १५ लाख रुपैयाँ जरीवाना वा ५ वर्षदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने ब्यवस्था छ । बाघ मार्ने वा शरीरका अंगहरु राख्ने, खरिद बिक्री र ओसार पसार गर्ने मानिसका बारेमा सूचना दिने मानिसलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिईने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
प्रत्येक चार वर्षमा राष्ट्रिय रुपमा बाघ गणना गरिदै आएको नेपालमा सन् २०१३मा गरिएको पछिल्लो गणना अनुसार नेपालमा पाटेबाघको संख्या १ सय ९८ रहेको छ । सो गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । सन् २००९ को तुलनामा सन् २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको थियो ।
Comments
Post a Comment