बर्दियाको पहिलो जिल्ला सभा बैठक आज बस्दै,नव निर्वाचित जन प्रतिनिधीहरुलाई पनि स्वागत गरिने

पी सी एन
बर्दिया,५साउन। बर्दिया जिल्ला सभाको पहिलो बैठक आज बिहीबार जिल्ला समन्वय समितिको कार्यालयको सभाकक्षमा बिहान ११बजे बस्दैछ । गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्लासभाको बैठक बस्ने व्यवस्था संवैधानिक व्यवस्था अनुसार बिहीबार बैठक राखिएको हो ।
जिल्ला समन्वय समितिको कार्यालय बर्दियाले बैठक अघि स्थानीय तहमा नवनिर्वाचित प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्षको स्वागत समेत गर्ने नायब सुब्बा ओमप्रकाश ज्ञवालीले  जानकारी दिनुभयो । 
स्थानीय तहमा नवनिर्वाचित प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्षको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा  सहभागी हुन जिल्लास्थित सांसद, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी गैर सरकारी निकायका कर्मचारी,संचारकर्मी ,नागरिक अगुवा,बुद्धीजीवीलाई स्थानीय विकास अधिकारी तेजराज शर्माले आग्रह गरेका छन्। 
नेपालको संविधान धारा २२० अनुसार जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा रहनेछ । गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिन भित्र जिल्ला सभाको पहिलो बैठक बस्ने संवैधानिक व्यवस्था छ । जिल्ला सभामा जिल्ला भित्रका दुई गाउँ कार्यपालिका दुई अध्यक्ष र दुई उपाध्यक्ष तथा नगर कार्यपालिका ६ प्रमुख र ६ उपप्रमुख गरि १६जना सदस्य रहनेछन् । 
निर्वाचन आयोगले निर्वाचन सम्पन्न भइसकेका  जिल्लामा जिल्लासभा बोलाई पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन स्थानीय विकास अधिकारीलाई निर्देशन दिएकाले सोही निर्देशन अनुसार स्थानीय विकास अधिकारी तेजराज शर्माले बिहीबार बैठक बोलाउनुभएको हो । बैठकले जिल्ला समन्वय समितिको निर्वाचनको लागि संख्या तय गर्ने र सोही तय भएको संख्या निर्वाचन प्रक्रियाको लागि निर्वाचन आयोगमा पठाउने स्थानीय विकास अधिकारी शर्माले बताउनुभयो । 
जिल्ला सभाले पाँच वर्षका लागि  एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ । 
जिल्ला सभाको काम, कर्तव्य र अधिकार तथा संचालन
जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने जिल्ला सभाको काम, कर्तव्य र अधिकार संविधानमा रहेको छ ।
 जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने संविधानमा उल्लेख छ ।

Comments