बर्दियामा बाढीबाट ४१ करोड मुल्य बराबरको धान लगायतका बालीनाली नष्ट


पी सी एन 
बर्दिया,३१साउन । अविरल वर्षाले साउन २८ र २९गते बबई तथा मान नदी र बिभिन्न खोलानालामा आएको बाढीले खेतबारी,डुबान,कटान र पटान हुंदा बर्दियामा झण्डै १७ हजार कृषकका झण्डै ४१ करोड मुल्य बराबरको धान लगायतका कृषिबालीमा नष्ट हुन पुगेको छ ।
धान उत्पादनको लागि उर्वर भुमि मानिने बर्दियामा बाढीका कारण १८हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानबाली नष्ट भएको हो । यसबाट धानको उत्पादकत्व घटने भएको छ।  बाढीका कारण धान डुबान हुदा र बाढीले बगाएर ल्याएको बालुवा र माटोले धान पुरिदा धानबालीमा नोक्सानी पुगेको हो । 
बाढी प्रभावितहरुको अवस्था र उद्धार तथा राहतमा भए गरेका प्रयास बारे स्थलगत निरीक्षणमा आउनु भएका सिचाईमन्त्री सञ्जयकुमार गौतम,पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारु र भुमिसुधारमन्त्री गोपाल दहित समक्ष कृषि क्षेत्रमा बाढिले  असर बारेको तथ्यांक प्रस्तुत गर्दे वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले सो जानकारी दिनुभएको हो।
बाढीले धान, मकै, अडहर,तरकारी बालीमा क्षति पुरयाएपछि अन्न भण्डारका रुपमा चिनिने बर्दियामा यस बर्ष उत्पादन घट्ने भएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत रावतका अनुसार बाढीले ३०लाख मुल्य बराबरको माछाका भुराहरु समेत बगाएको छ ।
दुई दिन लगातार आएको बाढीले जिल्लाका गुलरिया, बार बर्दिया ठाकुरबाबा ,बांसगढी नगरपालिकामा लगाईएका धान,तरकारी,अडहर,केरा,मकै लगायतमा पनि ठुलो असर गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बाढीका कारण बर्दियामा ३ हजार हेक्टर क्षेत्रफल कृषि खेति योग्य जमिन बगरमा परिणत भएको छ । कृषकहरुले खेति गरेको धान, मकै, अडहर लगायतका बालीमा बाढीले बालुवा र ढुंगा ल्याएर पाटीदिएपछि खेति योग्य जमिन पुरै बगर भएको हो । असार मसान्त भित्र धान रोपाई सकिएको बर्दियामा यस बर्ष समयमै रोपाई सकिएपछि धान उत्पादन बृद्धि हुने अनुमान गरिएको थियो । जिल्लामा बाढीका कारण मंगलबारसम्म ५जनाको ज्यान गएको छ भने एक जना बेपतmा र ४जना घाईते भएका छन्।

बाढीका कारण बर्दियामा आठवटै स्थानीय तहका ७४हजार जनता प्रभावित भएका छन्। प्रभावित मध्ये ४हजार ३सय ८८ घरपरिवारका २४ हजार ७सय ३४जनता विस्थापित भई आफन्त,सामुदायिक भवन र बिद्यालयमा आश्रय लिईरहेका छन् । 
बाढीका कारण १३हजार ३सय ६२ घरधुरीका ७४हजार ३सय २७ जनसंख्या प्रभावित बनेकोमा आइतबार सांझसम्मको तथ्यांकअनुसार २ हजार १सय ७३ घरमा पुर्ण र ८हजार ९सय ६२ घरमा आंशीक क्षति पुगेको छ । सडक ,पुल,कल्भर्ट, नहरहरु तथा बांध समेत भत्किएका छन्। बाढीले हजारौ पशु चौपाया समेत बगेको अनुमान छ। 

Comments