पी सी एन
काठमाण्डौ, ७ भदौ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुको परीक्षा असोज ८ गतेसम्मका लागि स्थगित गरेको छ ।
आयोगबाट परीक्षा सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण तयारी हुँदा हुँदै पनि प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार शिक्षा मन्त्रालय मार्फत कार्यान्वयनको लागि पत्र लेखी आएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त परीक्षाको कार्यतालिका हाललाई स्थगित गरिएको आयोगद्धारा जारि सुचनामा उल्लेख छ । परीक्षा स्थगित हुनाले परीक्षार्थीहरुमा पर्न गएको असुविधा प्रति आयोगले गहिरो दुःख पनि व्यक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ५ गते शिक्षा मन्त्रालयलाई पत्र लेखि अविरल वर्षाको कारणले सिर्जना भएको असहज परिस्थिति अझै विद्यमान रहेको, राज्यको सम्पूर्ण ध्यान उद्घार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको, जनधनको क्षतिबाट प्रभावित परिवारका सदस्यहरुको मानवीय संवेदना एवं यातायात पूर्वाधारहरुमा पुगेको क्षतिले गर्दा उत्पन्न भएको कठिनाई समेतलाई मनन गरी उल्लिखित परीक्षा कार्यव्रmम २०७४ असोज ८ गतेसम्मको लागि स्थगित गर्न निर्देशन दिएको थियो ।
शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा ११च मा भएको व्यवस्थाबमोजिम प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक को परीक्षा यही २०७४ भाद्र १० गते बिहान ११ः०० बजे हुने कार्यतालिका प्रकाशित गरिएको थियो ।
Comments
Post a Comment