बाढीबाट कृष्णसार जोगाउन तटबन्ध जरुरी रहेको प्रमुख शर्माको भनाई, ५५कृष्णसार बाढीले बगायो,३ मृत हाल कृष्णसारको संख्या २सय ३२


पी सी एन गोमा बिष्ट

बर्दिया,१०भदौ । पटक पटकको बाढीका कारण लोप हुन  लागेको संरक्षित वन्यजन्तु कृष्णसार बग्न थालेपछि  यसको दीर्घकालिन समाधानका लागि बबई नदीको तटीय क्षेत्रमा तटबन्ध र कृष्णसार संरक्षण क्षेत्र भित्र रहेका अग्ला ठाउलाई व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम जरुरी रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरका प्रमुख पुरुषोत्तम शर्माले बताउनु भयो । 
नेपालमा प्राकृतिक बास्थानमा बर्दियाको खैरापुरस्थित पटाहा क्षेत्रको पाईने कृष्णसार बबई नदीमा आउने बाढीका कारण असुरक्षित बन्दै गएपछि त्यसलाई बचाउन सो क्षेत्रमा पक्की तटबन्ध र संरक्षण क्षेत्रभित्र पनि केही स्थानमा अग्लो भुभाग बनाउन जरुरी रहेको संरक्षण क्षेत्रका अध्यक्ष कृष्णप्रसाद खनालको धारणा छ । 
२०७१ र २०७३ सालमा गरि दुई पटकको बाढीले हालसम्म ५८वटा कृष्णसारलाई क्षति पुरयाएको छ । यस बर्ष साउन २८ र २९ गते आएको बाढीले १५ वटा  कृष्णसार बगाएको तथा ३वटा मृत अवस्थामा भेटिएको छ ।  २०७१ सालमा आएको बाढीले ४०वटा गरि कृष्णसार बगाएको थियो । 
वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत कृष्णसार असुरक्षित बन्दै गएको छ। ३बर्षको अन्तरमा दुई पटक आएको बाढीका कारण बर्दियामा ५५वटा कृष्णसार बगेर बेपतm भएका छन् भने ३वटा कृष्णसार मृत अवस्थामा फेला परेकाले संरक्षण क्षेत्रलाई बाढीबाट जोगाउने नदी तटीय क्षेत्रमा पक्की तटबन्ध र संरक्षण क्षेत्रभित्र उच्च स्थलहरु बनाउनु पर्ने देखिएको छ ।
पटक पटक बाढी आउने अनि कृष्णसार वग्ने भएपछि संरक्षणको कुनै औचित्य नभएको प्रमुख शर्माको धारणा छ ।  अतिक्रमण, वन्यजन्तु र कुुकरको आक्रमणले कृष्णसार संरक्षणमा चुनौती भईरहेका बेला  बर्षेनी बबई नदीमा आउने बाढी अब मुख्य चुनौति बनेको कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । हाल कृष्णसार संरक्षण क्षेत्रमा रहेका कृष्णसारको संख्या २सय ३२ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मि. क्षेत्रलाई नेपाल सरकारले २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको थियो । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ ।

Comments