पी सी एन
ठाकुरबाबा,१८ भदौ । बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेपछि विदेशमा विशेष चर्चा पाएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने स्वदेशी तथा पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।
निकुञ्जमा बाघ, गैँडा, हात्ती लगाएतका वन्यजन्तुको सजिलै देख्न पाईने भएपछि वन्यजन्तु हेर्न निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेको हो।
प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार यस चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या बढेको छ । चालु आर्थिक बर्षको ४१ दिनमा २ सय ५७ आन्तरिक पर्यटक र सार्क मुलुक सहितका बिदेशी १ सय ३२ गरी ३ सय ८९ जना पर्यटकहरुले बर्दिया निकुञ्ज भ्रमण गरेका छन् ।
पर्यटक बढे सँगै राजश्वमा पनि बृद्धि हुँदै गएको छ । निकुञ्ज भित्रिएका पर्यटकबाट ७ लाख २५ हजार ५ सय ४ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात बर्दिया निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ । हाल बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ६२ पुगेको कार्यालयले जनाएको छ ।
Comments
Post a Comment