बर्दिया, २० भदौ । अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य भन्ने मुलनाराका साथ मंगलवार देशैभर मानव बेचबिखन बिरुद्धको ११औं दिवस बर्दिया,बांके लागयत देशैभर विविध कार्यक्रम गरि मनाईदैछ । महिला तथा बालबालिका कार्यालय,मानव बेचबिखन बिरुद्धको जिल्ला समिति,प्रेस क्लब अफ नेपाल लगायतका संघ संस्थाहरुको आयोजनामा दिवस मनाउन लागिएको हो ।
नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ । बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ तत्कालीन व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार दिवस मनाउन सुरुवात गरिएको हो ।
सार्क राष्ट्रबीच यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन गर्ने कार्यको विरुद्धमा आपसी सहयोग तथा ऐक्यबद्धता जनाउन मानवता विरोधी अपराधको रोकथाम, नियन्त्रण र प्रभावितको अधिकारको विषय समेटी सार्कको ११औँ सम्मेलनबाट “बेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२” पारित भएको थियो ।
नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनस्र्थापना गर्ने सम्बन्धमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५, वैदेशिक रोजगार सम्बन्धी ऐन २०६४ र नियमावली २०६५, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ र नियमावली २०६७ , महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना २०६८ र कार्यान्वयन योजना २०७१, पुनस्र्थापना केन्द्र सञ्चालन निर्दे्शिका २०६८ लगायत विभिन्न कानुनी र नीतिगत प्रावधान तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ । यसैगरी अन्तर्रा्ष्ट्रियस्तरमा पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विभिन्न महासन्धि, अनुबन्धपत्र साथै ऐच्छिक आलेख निर्माण गरिएका छन्।
उद्धार गरिएका वा बेचबिखनमा परी फर्केका पीडितहरूलाई सेवा दिनसक्ने गरी हालसम्म झापा, काठमाडौँ, सिन्धुपाल्चोक, पर्सा, चितवन, रूपन्देही, कैलाली र बाँकेमा एक–एक वटा पुनस्र्थापना गृह सञ्चालन भइरहेका छन् ।
यस्तै नेपालको नेपालको चौधौँ योजना (२०७३÷७४–२०७५÷७६) ले पनि मानव बेचबिखन तथा ओसारपसार कार्यको पूर्णतः नियन्त्रणबाट आत्मसम्मानयुक्त समाजको स्थापना गर्ने सोच पनि राखेको छ ।
मानव बेचबिखनविरुद्ध विभिन्न नीति, नियम, ऐन, कानुन एवं योजनाको तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदा–ल्याउँदै पनि बेचबिखनका घटना कम हुनसकिरहेका छैनन् । पछिल्लो समयमा मोबाईल प्रविधि र सामाजिक संजालको प्रयोग गरि रोजगारी ,शिक्षा र व्यापारको प्रलोभन देखाई दलालहरुद्धारा महिला तथा बालबालिकाहरुलाई बेचबिखन गर्ने क्रम बढिरहेको छ ।
यकिन तथ्यांक नभएपनि नेपालमा र नेपालबाट भारत,मध्यपुर्व,एशिया,अफ्रिकी सब सहारा मा बाध्यात्मक श्रम तथा यौन व्यवसायका हजारौं महिला,पुरुष,बालबालिकाहरुको बेचबिखन हुदै आईरहेको छ ।
Comments
Post a Comment