गुलरियामा कृष्णसार हेर्न आउने पर्यटकको संख्यामा बृद्धि प्रचारप्रसार गरे पर्यटक अझ बढने


गोमा बिष्ट ÷पी सी एन
बर्दिया,२कार्तिक । नेपालमा प्राकृतिक वासस्थान भित्र बर्दियाको खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा मात्र पाईने संरक्षित वन्यजन्तुको सुचिमा रहेको दुर्लभ स्तनधारी जन्तु कृष्णसार हेर्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।
प्रेस क्लब अफ नेपाल (पी सी एन्)संगको साक्षात्कारमा कृष्णसार संरक्षण तथा व्यवस्थापन कार्यालयका संरक्षण अधिकृत पुरुषोतम शर्माले आर्थिक बर्ष २०७२ ÷७३को तुलनामा आर्थिक बर्ष २०७३÷ ७४ मा २०० बढिले कृष्णसार संरक्षण क्षेत्र भ्रमण गरि कृष्णसार हेरेको बताए ।
आर्थिक वर्ष २०७÷७३ मा २१ विदेशी समेत जम्मा १४०० जनाले र आर्थिक बर्ष २०७३ ÷७४मा ४२ विदेशी सहित १६०० जनाले कृष्णसार संरक्षण क्षेत्र भ्रमण गरेका छन् । दशै, तिहार,माघी पर्व,क्रिश्मश,नंया बर्ष र अन्य बिदाका बेला युवा युवती र बिधार्थीहरु कृष्णसार हेर्न र संरक्षण क्षेत्र घुम्न आउने कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । 
प्रेस क्लब अफ नेपाल (पी सी एन)संगको साक्षात्कारमा संरक्षण अधिकृत पुरुषोतम शर्माले दुर्लभ स्तनधारी वन्यजन्तु कृष्णसार र यसको वरिपरि रहेका जैविक विविधताको बारेमा ब्यापक प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको संख्या थप बढने बताए । कृष्णसारका विशेषता,कृष्णसार वरिपरि रहेका जैविक विविधताको बारेमा संचार माध्यम,स्थानीय तह,संरक्षण प्रेमी र सरकारी र गैर सरकारी निकाय ,जनप्रतिनिधि सबैले ब्यापक प्रचारप्रसार गर्नुपर्छ ः अधिकृत शर्माको भनाई छ । 

उनले बर्दियाको पहिचान र गहनाको रुपमा रहेको कृष्णसार र यसको संरक्षणमा भएका गरेका प्रयासका बारेमा संचार माध्यम र अन्य निकायहरुबाट ब्यापक प्रचारप्रसार गरि गुलरिया खैरापुर क्षेत्रको जैविक विविधता संरक्षण गरि यस क्षेत्रमा पर्यटन विकासद्धारा रोजगारी सृजना गरि आर्थिक समृद्धि हासिल गर्न गराउन सकिने धारणा राखे ।
कृष्णसार संरक्षण क्षेत्र वरिपरि पक्की सडक,होटल तथा होमस्टे ,प्रतीक्षालय ,भ्यु टावर र अन्य पर्यटकीय पुर्वाधारको विकास र संरक्षण तथा व्यवस्थापनमा नगरपालिका र  प्रचारप्रसारमा संचार माध्यमहरुले थप चासो दिए बर्दियाको पहिचानको रुपमा रहेको कृष्णसार संरक्षण कार्य अझ व्यवस्थित प्रभावकारी हुनुका साथै कृष्णसार भ्रमण गर्ने स्वदेशी तथा विदशी पर्यटकको संख्यामा बृद्धि हुने अधिकृत शर्माले बताए।

जैविक विविधताले धनी कृष्णसार संरक्षण क्षेत्रमा हाल २३२ वटा कृष्णसार, बुलबुल,लालसर,खैरोधनेश,फाप्रे,कोकल गरि ६४ प्रजातीका पंक्षी, हुडार,चितुवा,स्याल,लोखर्के,खरायो गरि १४ प्रजातीका स्तनधारी जनावरहरु , १०७ प्रजातीका वनस्पती तथा ३२ प्रजातीका बृक्ष, पनि पाईने गरेका छन् ।
खुला घासे मैदानमा भालेको अगुवाईमा समुहमा बस्न मन पराउने,८०किलोमिटर प्रति घण्टा दौडन सक्ने ,अति डराउने र आतिने , सुन्दर रुपरंग भएको मध्यम वर्गीय स्तनधारी जनावर कृष्णसारको अंग्रेजी नाम ब्लाकबक र बैज्ञानिक नाम एन्टिलोप सर्भिक्यापरा हो ।
कृष्णसार संरक्षण चौकी स्थापना गरि २०३२ सालदेखि जिल्ला वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा सुरक्षा प्रदान गरिदै आएको कृष्णसारलाई २०६५ साल फागुन २३ गते राजपत्रमा सुचना प्रकाशित गरि नेपाल सरकारले गुलरिया नगरपालिकाको १६.९५ वर्ग किमि क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरि कृष्णसार संरक्षण कार्य गर्दे आईरहेको छ ।


Comments