गुलरियाको धानवालीमा फौजी किराको प्रकोप बढेपछि जिल्ला कृषि विकास कार्यालयले निःशुल्क बिषादी बितरण कार्य शुरु गरयो


पी सी एन

बर्दिया,२४ असोज । गुलरिया नगरपालिकाको  विभिन्न स्थानमा फैलिएको फौजी किराको प्रकोपले पाकेको धान बालीमा नोक्सानी हुन थालेको छ । फौजी किराले हालसम्म गुलरियाको थारु पर्सिया,मथुराहरद्वार,खैरापुर क्षेत्रका धानवालीमा असर गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।किराले धानको बाला काटि क्षति पुरयाएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावत, प्राविधिक सहायक कमल तामांग,पत्रकार महासंघका प्रदेश सभासद् एंव प्रेस क्लबका अध्यक्ष यम घिमिरे,पत्रकार डिलप्रकाश गौतम लगायतको टोलीले मंगलबार प्रभावित क्षेत्रमा अवलोकन समेत गरेको छ । पुतली प्रजातिको एक प्रकारको लार्भाले काटन बाकी धानको बाला काटेर नष्ट पार्न थालेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख परशुराम रावतले बताए । दिउसो शान्त भएर बस्ने तर राति र बादल लागेको बेला मात्र सक्रीय रहने एक प्रकारको किराले धानको बाला काट्ने र खाने गरेको उनले बताए । सुख्खा र घमाइलो मौसममा फैलने र हुर्कने फौजी किराको नामले पनि चिनिने यो किराको हुलले एकै रातमा पनि ठूलो नोक्सानी पार्ने गरेको कृषि प्राविधकहरु बताउछन् । 
फौजी किराको प्रकोप देखापरेका स्थानहरुको किसानलाई जिल्ला कृषि विकास कार्यालयले निःशुल्क रुपमा बिषादी बितरण गर्दे आएको बताउदै निःशुल्क रुपमा बिषादी लिन चाहने कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको  छ । फौजी किरा नियन्त्रण गर्न १लिटर पानीमा २ एमएल ईमिडोकोलोप्रिड नामक बिषादी  मिसाएर धानको गाज भिज्ने गरि छर्कन जिल्लो किसानहरुलाई अनुरोध गरिएको वरिष्ठ कृषि विकास अधिकृत रावतले बताए । 
फौजी किराबाट धानवाली जोगाउनको लागि जिल्ला कृषि विकास कार्यालयले स्थानीय तहका कार्यरत आफना प्राविधिक मार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने प्राविधिक सहायक कमल तामांगले बताए । अत्याधिक विषादी प्रयोग गरिने र लामो समयदेखि खडेरी परेको स्थानहरुमा यस प्रकारको किराको प्रकोप देखिने गरेको छ ।


Comments