खानेपानी आयोजनाहरुको स्थलगत निरीक्षण

पी सी एन
बर्दिया,१३कार्तिक । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बि.सी.,सहसचिव शंकर सुबेदी,क्षेत्रीय निर्देशक चन्द्रबहादुर के.सी. सहितको टोलीले बर्दिया,बांके,दांग र डोल्पा जिल्लामा संचालित खानेपानी आयोजनाहरुको स्थलगत निरीक्षण गरेको छ ।
टोलीसंग स्थानीय खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुले खानेपानी तथा सरसफाई मन्त्रालयले प्रेसर फिल्टर र ट्रीटमेण्ट प्लान्ट उपलब्ध गराए उपभाक्ताहरुलाई थप गुणस्तरीय खानेपानी बितरण गर्न सकिने भन्दै प्रेसर फिल्टर र ट्रीटमेण्ट प्लान्ट मांग गरेका छन् ।
मन्त्रालयका सचिव कृष्णराज बि सीको नेतृत्वमा आएको मन्त्रालयको टोलीले बर्दियाको गुलरिया,मगरागाडि,भुरिगाउ र प्रस्तावित दोस्रो गुलरिया खानेपानी आयोजना र कार्यालयहरुको स्थलगत निरीक्षण गरि खानेपानी उपभोक्ता समितिसंग अन्तरकृया समेत गरेको खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय बर्दियाका प्रमुख दिलीपकुमार बताए। 
स्थलगत निरीक्षणका क्रममासचिव बि सीले प्रभावकारी गुणस्तरीय खानेपानी बितरण गरेको र चित्तबुझ्दो काम गरेकोमा खानेपानी उपभोक्ता समिति तथा खानेपानी कार्यालयको प्रंशसा समेत गरे ।
आयोजनाको निरीक्षणका क्रममा बर्दिया आईपुग्नु भएका मन्त्रालयका सचिव बि सीलाई जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय बर्दियाका प्रमुख दिलीप कुमारले कार्यालय मार्फत निर्माण सम्पन्न भई संचालनमा रहेका १२वटा आयोजना मार्फत जिल्लाका २२ प्रतिशत घरधुरीलाई सुरक्षित खानेपानी बितरण गरिदै आएको र थप ४५वटा आयोजना निर्माणधीन रहेको जानकारी दिए।

Comments