Skip to main content
संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बलियो जग बसाल्न नेपाली कांग्रेसलाई मतदान गर्नुपर्छ : सिचाईमन्त्री गौतम
पी सी एन
बर्दिया,२१ कार्तिक । सिचाईमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका सभापति एंव प्रतिनिधि सभाका लागि बर्दिया १का उम्मेदवार निवर्तमान सांसद सञ्जयकुमार गौतमले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बलियो जग बसाल्न मंसिर १० र मंसिर २१ गते हुन लागको प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरि बहुमतले जिताउन सबैमा आग्रह गर्नु भएको छ ।
बर्दियाका बिभिन्न स्थानमा आयोजित कार्यकर्ताको भेलाहरुलाई सम्बोधन गर्दे सिचाईमन्त्री गौतमले कंग्रेसको नेतृत्वमा बन्ने केन्द्र सरकारले मात्र संविधानको कार्यान्वयन, संघीयताको मर्म अनुसारको शासन–प्रबन्ध , प्रदेश स्थानीय संघीय तीनै तहको सरकारसँग सहयोग र समन्वय एवं आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउनु भयो।
निर्वाचन पछि बन्ने नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासलाई तीव्रताका साथ अघि वढाउने, पछाडि परेका क्षेत्र र गरिबीको मारमा परेका जनतालाई आय आर्जनका अवसर दिलाउने, रोजगारी सिर्जना गर्ने र सामाजिक न्याय स्थापित गर्ने काम गर्ने सिचाईमन्त्री गौतमको भनाई छ ।
सिचाई मन्त्री एंव बर्दिया कंग्रेसका सभापति गौतमले प्रतिनिधि सभामा नेपाली कांग्रेसले जितेमा केन्द्रमा स्थिर, बलियो र भरपर्दो लोकतान्त्रिक सरकार निर्माण भई तीव्र गतिमा आर्थिक विकास हुनुका साथै र प्रादेशिक स्वायत्त शासन पनि बलियो एंव संस्थागत हुने प्रष्ट पार्नुभयो ।
सात दशकदेखि जनताले लोकतन्त्रका लागि गरेको संघर्ष र त्यसका उपलब्धि जोगाउन, माओवादी हिंसात्मक द्वन्द्व, मधेश–पहाडका विभिन्न आन्दोलनका घाउमा मलहम लगाउने काम नेपाली कांग्रेसको प्राथमिकतामा रहेको बताउदै कंग्रेस नेता गौतमले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ताको दृढतापूर्वक रक्षा गर्दै छिमेकी देशहरु, मित्रराष्ट्रहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सन्तुलित र भरपर्दो सम्बन्ध कायम राख्ने महत्वपूर्ण जिम्मेवारी पनि नेपाली कांग्रेसको नेतृत्वमा बन्ने केन्द्र सरकारबाट मात्र संभव रहेको जिकीर गर्नुभयो ।
लोकतन्त्रलाई अझ बलियो बनाउन र जनताका अधिकारलाई निरन्तर संरक्षण गर्न , विभिन्न जाति, भाषा र संस्कृति एवं जनताका बीचमा एकता र सद्भाव कायम राखेर राष्ट्रिय एकता बलियो बनाउन , दिगो शान्ति र विकासका लागि काम गर्न पनि नेपाली कांग्रेसलाई जिताउनु पर्ने कंग्रेस नेता गौतमको तर्क छ ।
कम्युनिष्टहरु लोकतन्त्रका पक्षमा कहिल्यै निष्ठापूर्वक नउभिने बरु लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याई निजी क्षेत्रलाई राज्यवल प्रयोग गरेर नियन्त्रण गरि हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने उंहाको तर्क छ । कम्युनिष्टहरु बहुलवाद, वहुविचार र वहुदलीयतालाई हृदयबाट स्वीकार गर्दैनन् , तिनले एकदलीय निरंकुश कम्युनिष्ट शासनको वकालत गर्दछन् ः गौतमको भनाई छ ।
Comments
Post a Comment