को हुन सञ्जय गौतम ?


पी सी एन
बर्दिया, २५ मंसीर । राष्ट्रिय गौरवको भेरी बबई डाईभर्सन र बबई सिचाई आयोजनाको निर्माण कार्यलाई चुस्त दुरुस्त बनाउन र नदी कटान नियन्त्रण गर्नका लागि  लागि भादा ,ओराई र मानखोला नदी नियन्त्रण आयोजनको कार्यालय स्थापना र हुलाकी सडक आयोजनालाई नेपाल सरकारको बजेटबाट निर्माण हुने व्यवस्था मिलाएर विकास गर्ने नेताका रुपमा प्रसिद्धी कमाएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति संजयकुमार गौतमको जन्म पिता किशोरकुमार गौतम तथा माता रक्षा गौतमको कोखबाट बि.सं २०२० साल वैशाख १३ गते भएको हो ।
विकास ,सुशासन र पद्धतिमा सधै जोड दिदै आएका गुलरिया नगरपालिका वडा नं ५ मतङ्गगा सुहेलवामा बस्दै आएका नव निर्वाचित प्रतिनिधि सभा सदस्य गौतम राजनीतिशास्त्रमा स्नातक तहसम्मको शिक्षा पुरा गरेका छन् ।
२०३६/०३७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका गौतम पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै पार्टीको जिल्ला सभापति भएका हुन । सह–सचिव र सचिव गरेर सात वर्ष नेपाली कांग्रेस जिल्ला कार्य समितिमा काम गरेका गौतम दुई कार्यकाल बर्दिया कांग्रेसको सभापति समेत भई सकेका छन् ।
पार्टी विभाजनका बेला संस्थापन पक्षमा रहेर सभापति भएका गौतम पार्टी एकतापछि सर्वसम्मतिले एक पटक र अर्को पटक निर्वाचित सभापति भएका हुन।
०३६/०३७ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा बिताएका गौतम ०६२/०६३ जन आन्दोलन २का बर्दिया कमाण्डर पनि मानिन्छन् । सोही आन्दोलनका क्रममा उनी तीन महिना जेल पनि परेका थिए।
०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापति लडेका गौतम पाँच भोटले  ०६४ सालमा  संविधान सभा सदस्यमा पराजित भएपनि २०७० सालको संविधान सभा चुनावमा भने बर्दिया २बाट ११६०० सय मत प्राप्त गरि संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालको साउनदेखि सिँचाइ मन्त्री बनेका गौतमले मन्त्री भएको छोटो समयमा नेपाल सरकारबाट १० अर्ब भन्दा बढिको विकास योजनाहरु बर्दियामा स्वीकृत र लागु गराई बर्दिया विकासमा एक अनुपम र उदाहरणीय काम गरेका कारण बर्दियाको समृद्धि,परिवर्तन र विकास चाहने मतदाताहरुले उनलाई यसपाली बर्दिया १बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेका हुन।
गौतमले ४४८२९ मत प्राप्त गरि ३पटक बर्दिया १बाट चुनाव जितेका ने क पा एमालेका उपाध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई पराजित गरेका छन्। उनले वामदेव भन्दा ७५३ मत बढि ल्याएका छन। एमाले नेता वामदेव गौतमले ४४०७६मत ल्याए ।

Comments