बर्दिया निकुञ्जमा बाघ गणना जारि रहेको प्रमुख संरक्षण अधिकृत भण्डारीको भनाई

गोमा बिष्ट / पी सी एन
बर्दिया,३पौष ।बाघको वास्तविक संख्या पत्ता ,यसको अवस्था, वासस्थान र आहारा प्रजातीको वारेमा जानकारी प्राप्त गर्न बांके र बर्दिया राष्टिय निकुञ्जमा बाघ गणना जारि राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराईले शनिबार एक समारोह बीच उद्घाटन गरि शुरु गर्नुभएको बाघ गणना कार्य सोमवार पनि जारि रहेको छ ।
आधुनिक क्यामरा ट्यापिङ्ग  प्रविधिको प्रयोग गरी बर्दिया निकुञ्जमा पौष १गतेदेखि शुरु भएको बाघ गणना कार्य सोमवार पनि जारि रहेको निकुञ्जले जनाएको छ । बर्दिया र बाँके निकुञ्ज क्षेत्रलाई तीन वटा ब्लकमा विभाजन गरी १ सय १२ जना प्राविधिकसहितको विशेषज्ञ टोली बाघ गणनाको लागि खटाईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले पी सी एनलाई जानकारी दिए । गणना कार्यमा आवश्यकता अनुसार हात्ती पनि प्रयोग गरिएको निकुञ्जले जनाएको छ ।
बाघ गणनाका लागि निकुञ्ज भित्र दुइ–दुइ किलोमिटरको दुरीमा १५ दिनसम्म २००देखि २२०वटा क्यामेरा जडान हुनेछन् । प्राविधिकहरुको टोलीले यसको नियमित अनुगमन र सूचना संकलन गर्ने छन् । गणनाका लागि १० वटा समूह बनाइएको र हरेक समूहमा ८÷८ जना प्राविधिकसहित केही सहयोगी पनि रहेका छन् ।
बाघ हिडडुल गर्ने सम्भावित स्थानहरु पहिचान गरि क्यामरा जडान गरिने छ । बाघ हिड्ने सम्भावीत बाटाको दायाँवाया दुबैतर्फ करिव ६ मिटरको दुरी र करिव ४५ देखी ६० सेन्टीमिटर उचाइमा क्यामरा जडान हुनेछन् । क्यामरा जडान भएको बाटो भएर बाघ हिडेमा उक्त बाघको फोटो क्यामरामा कैद हुनेछ । यसैबाट बाघको पहिचान हुनेछ । क्यामेरा राखेको स्थानबाट कुनै पनि जनावर, मानिस आवतजावत गरेमा पनि ती सबै स्वचालित क्यामेरामा कैद हुने छन् प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए ।
पहिलो ब्लकमा जडान भएको १५ दिन पछि अर्को ब्लकमा क्यामरा जडान गरिने छ । क्रमशः तीन वटा ब्लकमा पालैपालो क्यामरा जडान हुने बताइएको छ । गणना अवधिभर प्राविधिकसहितको टोली निकुञ्ज भित्रै बस्नेछ । क्यामेराले कैद भएको बाघको फोटोमा बाघको पाटा हेरेर बाघ संख्या यकिन गरिने निकुञ्जले जनाएको छ ।
सन् २००० मा बर्दिया निकुञ्जमा ४० वटा बाघ रहेकोमा द्वन्द्वकालमा बाघ र गैँडाको व्यापक चोरीसिकारी भई सन् २००८ मा गणना गर्दा बाघको संख्या ह्वातै घटेर १८ मा सीमित भयो । मुलुकमा द्वन्द्व समाप्त भएपछि नेपाली सेना र निकुञ्जका कर्मचारी र स्थानीय मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुको सकृयतामा बाघको चोरीसिकारीमा कमी आई बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दो छ । सन् २०१० को गणनामा बर्दियामा बाघको संख्या २७, सन २०१२ मा ३७ पुगेको थियो ।
पछिल्लो गणना अनुसार हाल बर्दिया निकुञ्जमा वयस्क ५०, अर्धवयस्क ६ र (डमरु)बच्चा २९ वटा गरी ८५ वटा बाघ छन् । अहिले यो संख्या अझै बढन सक्ने निकुञ्जको अनुमान छ । सन् २०२२ सम्म बाघको संख्या दोब्बर अर्थात २ सय ५० पुर्याउने नेपालको लक्ष्य रहेकोमा  पछिल्लो गणना अनुसार नेपालभर बाघको संख्या १ सय ५८ रहेको छ ।


Comments