डा. पुष्पा चौधरी सरकारद्वारा स्वास्थ्य सचिवमा नियुक्त


पी सी एन
काठमाण्डौ,१४ पौष । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा चौधरीलाई सचिवमा नियुक्त गरेको हो। बढुवा समितिले हिजो गरेको सिफारिसका आधारमा डा चौधरीलाई सचिवमा बढुवा गरिएको हो ।
डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिवको पदपूर्ति भएको छ । 
आज सचिव नियुक्त भएकी डा चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन्। उनी ०६२ सालमा ११औं तहमा प्रतिस्पर्धामा बढुवा भएकी थिइन्। गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन्। त्यसअघि उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृहकी निर्देशक समेत थिइन्।
डा. किरण रेग्मीले गत मंसिर १८ मा अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो ।वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् । स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ र डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए ।
डा चौधरी स्वास्थ्य सचिवमा बढुवा भएसँगै स्वास्थ्य मन्त्रालयले महिला डाक्टर सचिवका रुपमा तीन जना सचिव पाएको छ। यसअघि डा किरण रेग्मी र डा सुधा शर्मा स्वास्थ्य सचिव थिए। डा सुधाले स्वास्थ्य सचिवबाट राजीनामा दिएर गएकी थिइन् भने डा रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकाश पाएकी हुन्।

Comments