पी सी एन्
बर्दिया, २० माघ । भारत उतर प्रदेशको भन्सार बिभाग गुलरिया मुर्तीहा नाका संचालनमा सकारात्मक देखिएको छ ।
गुलरिया उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष मनोज यादवको नेतृत्वमा गुलरियाबाट लखनउ पुगेको प्रतिनिधि मण्डलसंग शनिवार लखनउको अलीगंजमा रहेको उतरप्रदेश भन्सार बिभागमा निर्देशक शिवकुमार शर्मा सहितका अधिकारीहरुले मुर्तीहा नाका संचालन गर्न सकारात्मक संकेत देखाएका छन् । सो बिभागले गुलरिया मुर्तीहा नाका संचालनका सम्बन्धमा बृहत छलफल गर्न गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर चौधरी लगायतलाई फेब्रुअरी ९ तारिखमा लखनउ बोलाएको छ ।
गुलरिया मुर्तीहा नाका संचालनका लागि उतरप्रदेश भन्सार बिभाग अत्यन्त सकारात्मक रहेकोले फेब्रुअरी ९ तारिखको छलफल पछि छिट्टै नै नाका संचालनमा आउने छ ः भेटमा संलग्न गुलरिया उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष मनोज यादवले भने ।
केही समय अघि उतरप्रदेशका पुर्व मुख्य मन्त्री अखिलेश यादव र बर्तमान सिचाईमन्त्री संजयकुमार गौतम र त्यसपछि वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटका लागि पुगेका सांसद अभिषेकप्रताप शाह , गुलरियाका सामाजिक अभियन्ता एंव कंग्रेस नेता अनुप यादव संगको भेटमा उतर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले भारतीय वन,आरक्षले भारतीय कस्टम अफीस स्थापना गर्न जग्गा उपलब्ध गराउने सहमति जनाएकोले आवश्यक प्रकृया पुरा गरि छिट्टै नाका संचालनमा ल्याउन आफु लागि पर्ने र छिट्टै नै गुलरियामा नाका खुल्ने आश्वासन दिएका थिए । सो भेटमा पनि बर्दियाबाट उधोगी ब्यापारी सहितको एक प्रतिनिधि मण्डल आएमा भारतीय वन अधिकारी ,कस्टम अधिकारीसंग बैठक गरि नाका संचालनमा ल्याउने बताएका थिए ।
बर्दियाको गुलरियासँग जोडिएको भारतीय सीमाको मुर्तिहा सडक र त्यहा निर्माण हुने कस्टम अफीस आरक्षभित्र परेकाले वन बिभागका अधिकारीहरुले स्वीकृति नदिदा नाका सञ्चालमा ढिलाई भएको थियो। सन् २००९को अक्टोबर २७ मा नेपाल र भारतका अधिकारीबीच महेशपुर, ठुटीवारी, सिक्टा, लुक्हा र मुर्तीहा गरि ५ वटा नाका थप्न सम्झौता भएको थियो ।तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमणका क्रममा उत्तरप्रदेश राज्यका पूर्व मुख्यमन्त्री अखिलेशकुमार यादवले दुवै मुलुकबीच भएको सम्झौता अन्तर्गत नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका थिए ।अन्य नाका सञ्चालनमा आए पनि मुर्तिहा आरक्ष क्षेत्रमा परेकाले भारतीय वन अधिकारीले स्वीकृत दिएका थिएनन् । तीन वर्षअघि उद्योग वाणिज्य संघका उपाध्यक्ष बिरु चौधरी को नेतृत्वमा सर्वदलीय र सर्वपक्षीय टोली नाका खुलाउने माग गर्दै लखनउस्थित भारतीय सीमा शुल्क आयुक्त (निवारक) को मुख्यालय पुगेको थियो । आयुक्तले मुर्तिहामा नाका खोल्न सहमति दिएपछि सीमा शुल्कका सहायक मन्जुरानीको टोलीले कर्तरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रको मुर्तिहा अवलोकन गरेकी थिइन् । त्यस समय वनले जग्गा उपलब्ध गराउन सहमति पनि दिएको थियो ।
Comments
Post a Comment