बर्दियाका किसानहरु इकोसान प्रविधिबाट तरकारी खेती गर्न थाले

पी सी एन 
बर्दिया १२ चैत्र । रासायनिक मल तथा विषादिको प्रयोगबाट उत्पादन भएका कृषि उपजहरुले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने जनचेतना पाएपछि बर्दियाका किसानहरु आफनो पिसाब संकलन गरि इकोसान प्रविधिबाट तरकारी खेती गर्न थालेका छन् । 
यूएन हेभिटेटका सहयोग,मायुस बर्दिया र आई.डी.एस. नेपालको सहजीकरण र खानेपानी तथा सरसफाई स्वच्छता समन्यव समितिको आयोजनामा फागुन २३ र २४ गते बर्दियाको गुलरियामा पिसाब मास्टर भनिने इकोसानका राष्ट्रिय प्रशिक्षक श्रीरेन्द्र पोखरेलबाट ठोस एंव तरल फोहोर व्यवस्थापन तथा ईको सान सम्बन्धि तालिम पाएका किसानहरु पिसाब संकलनमा लागेका हुन । 
ईकोसान प्रविधिबाट संकलित पिसाबको मलले घर आगनको सरसफाइ हुने र तरकारीहरु असाध्यैे स्वस्थकर राम्रो उत्पादन हुनभएकाले पिसाब संकलन गरि ईकोसान प्रविधिबाट खेती गर्न लागेको बढैयाताल ३ की लक्ष्मी वि. सी.ले बताईन । पिसाब र जैविक बिषादी प्रयोग गरेको तरकारीबाट पैसाको बचत हुनुका साथै बोट विरुवामा किरा नलाग्ने ,माटो खुकुलो हुने र जति चोटी जोतेपनि डल्ला नआउने हुने भएकाले आफुहरु इकोसान तर्फ आकर्षित भएको उनको भनाई छ। 
 सरसफाई नमुना गाउको अन्तिम तैयारीमा जुटेका बर्दियाका गेरुवा गाउपालिका वडा नं १को पटवारीपुर र उतरपुर्वा, ५को बिन्द्रा टोल पहाडिपुर,३को बनकट्टी ,६को लोहगढ गौचरण र बढैयतालको वडा नं १को शान्तिपुर,२को शिवशक्तिटोल,५को फुलवारी र झरसेला ,६को श्रीपुरका दुई दर्जन किसानहरु पिसाब संकलनमा लागेको आईडिएसका कार्यक्रम संयोजक ताराबहादुर खातीले बताए । आईडीएस र मायुसबाट सहयोग प्राप्त मिनरल वाटरको बोटलमा पिसाब संकलन गरि प्लास्टिकको जरकिनमा पिसाब भण्डारण गर्दे आएका किसानहरुले थप बोतल र जरकीन मांग गरेका छन् । 
 इकोलोजिकल स्यानिटेसन अर्थात पर्यावरणीय सरसफाइको छोटो रुप मानिने इकोसान प्रविधि मानव मलमूत्रलाई कृषि उत्पादन र खाद्य सुरक्षाको श्रोतका रुपमा प्रयोग गर्ने वातावरणमैत्री दिगो सरसफाइ प्रणाली इकोसान हो । यसमा मानिसको दिसा र पिसाबलाई छुट्टैछुट्टै ट्यांकीमा जम्मा गरिन्छ । संकलन गरिएको पिसाबलाई एक महिनासम्म पिसाबलाई भण्डारण गरेर राखिन्छ । भण्डारण गरिएको एक भाग पिसाबमा तीन भाग पानी मिसाएर बालीनालीमा प्रयोग गरिन्छ । पिसाब तरकारीको फल वा पातमा नभई त माटोमा राखिन्छ र माटोबाट बोटविरुवाले सोसेर लिन्छ ।’ एकजना मानिसको एक वर्षको पिसावबाट चार केजी नाइट्रोजन, तीन सय ८८ ग्राम फस्फोरस र चार सय सात ग्राम पोटास प्राप्त हने आई.डी.एस. नेपालका जिल्ला संयोजक ताराबहादुर खातीले बताए । उनका अनुसार तरकारी, फलफूल वा अरु कुनै बालीका लागि चाहिने पोटास, फस्फोरस जस्ता रासायनिक मलको काम पिसाबले गर्छ । यसले माटोको उत्पादकत्व क्षमता बढाउँछ । विरुवालाई स्वस्थ, र थप उत्पादन दिन योग्य बनाउँछ । स्वस्थ विरुवाले दिने फल पनि स्वस्थ हुन्छ र यसरी उत्पादन गर्ने बालीमा पोेषक तत्व समेत धेरै हुन्छ ।

Comments