विविध कार्यक्रमको आयोजना गरि बर्दियामा पनि विश्व पानी दिवस मनाईयो



पी सी एन्
बर्दिया ९चैत्र । हरेक बर्ष २२ मार्चका दिन मनाईने विश्व पानी दिवस बिहीबार बर्दियामा पनि विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, यु.एन. हेविटाट , आई.डि .एस. नेपाल, मायुस बर्दिया,  खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको सहयोग तथा समन्वयमा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाले  “ पानीका लागि प्रकृति “ भन्ने मूल नाराका साथ गुलरियामा बिश्व पानी दिवस मनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुबदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा समाजसेवी एंव गुलरिया नगरपालिका वडा नं ६का नगरसदस्य सुधांशु प्रकाश शर्मा , युएन हेभिटेटका बिष्णु दवाडि, आईडीएसका ताराबहादुर खाती,प्रेस क्लब अध्यक्ष एंव पत्रकार महासंघका प्रदेश सभासद यम घिमिरे,गुलरिया नगरपालिका वडा नं ६का सचिव कपिल घिमिरे लगायतले  सन् २०१७ सम्म आधारभुत तथा सन् २०३० सम्म शुद्ध खानेपानी पुरयाउने सरकारी लक्ष्यलाई कार्यान्वयन गर्न  आ–आफनो तह र तप्का बाटो सबैजना लाग्नु पर्ने बताए ।
जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालयका सुब्बा छवि बास्तोलाले  ओभरहेड टंकी मार्फत हालसम्म बर्दियाका ३० प्रतिशत घरधुरीलाई सुरक्षित खानेपानीमा पंहुच पुरयाईएको बताएका छन् । जिल्लाका ९ ठाउमा निर्माण गरि संचालनमा ल्याईएको ओभरहेड टंकी मार्फत झण्डै ९हजार घरधुरीलाई टयुबवेलका पानी भन्दा धेरै राम्रो आर्सेनिक नभएको शुद्ध खानेपानी बितरण गरेको उनको भनाई  छ ।
कार्यक्रममा बोल्दै आईडिएस नेपालका कार्यक्रम संयोजक ताराबहादुर खातीले बर्दिया जिल्लाको कुल ४लाख २६हजार ९सय ४६ जनसंख्या मध्ये ९०  प्रतिशत जनसंख्या पानीको सहज पुंहचमा रहेको भएपनि २५ प्रतिशत जनसंख्याले मात्र सुरक्षित पिउने पानीको प्रयोग गर्न पाएको छ । संयोजक खातीका अनुसार बर्दियाको कुल जनसंख्याको ७५ प्रतिशतले  अहिले पनि आर्सेनियुक्त पानी खान बाध्य छन् । 
यूएन हेभीटेटका बिष्णु दवाडिका अनुसार बर्दियामा ९० प्रतिशत जनसंखयामा मा आधारभूत स्तरको खानेपानी सुबिधा भएपनि  कोलिफम नामक किटाणु, आर्सेनिक नामक रासायनिक तत्व र अत्यधिक आइरनका कारण मानिसको स्वास्थ्य जोखिम रहेकोले पानीलाई  शुद्धिकरण गरि पिउने बानीको विकास गर्नु आवश्यक रहेको छ ।  दवाडिका अनुसार प्रदुषित पानीलाई घरायसी तहमा उमालेर, फिल्टर गरेर, क्लोरिन वा सोडीस गरेर शुद्धीकरण गर्न सकिन्छ ।
कार्यक्रममा प्रकाश  बायो स्याण्ड  फिल्टर उद्योग र नरसिंह सिमेन्ट टायल उद्योगका प्रतिनिधिहरुले  बायो स्याण्ड फिल्टरको प्रत्यक्ष प्रर्दशन गरि फिल्टरको प्रयोगबाट हुने फाइदा बारेमा प्रस्ट परेका थिए ।
 कार्यक्रमलाई सम्बोधन गर्दै  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाका सल्लाहाकार प्रतिनिधि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुबेदीले समय सान्दर्भिक कार्यक्रम आयोजना गरिएकोले कार्यक्रमले सुरक्षित  पानीको बिषयमा नागरिकलाई सचेत पार्न मद्दत पुगेको बताउदै  सुरक्षित खानेपानीको प्रयोगमा मिडिया मार्फते सन्देशलाई ब्यापकता दिनुपर्ने धारणा राखेका थिए ।  कार्यक्रममा पानी, वातावरण सम्बन्धि गीत र जिंगलहरु प्रसारण समेत गरिएको थियो । 


Comments