बर्दियाका ३५६ सहकारी स्थानीय तहमा हस्तान्तरण


पी सी एन
बर्दिया ३ वैशाख । डिभीजन सहकारी कार्यालय बर्दियाले जिल्लामा दर्ता भई सञ्चालनमा रहेका ४सय १ सहकारी संस्था मध्ये ३ सय ५६ सहकारी संस्था स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहमा हस्तान्तरण गरिएको छ । एक स्थानीय तहमा मात्र कार्य क्षेत्र भएका सहकारीहरुलाइ स्थानीय तहमा हस्तान्तरण गरिएको भएपनि एक भन्दा बढि स्थानीय तहमा कार्यक्षेत्र भएका ४५वटा सहकारी संस्था भने प्रदेश सरकारमा हस्तान्तरण गरिने छ।  
प्रेस क्लब अफ नेपाल (पी सी एन)संगको साक्षात्कारमा डिभीजन सहकारी कार्यालय बर्दियाका प्रमुख सहकारी अधिकृत लक्ष्मीकुमार वि.क.ले आठवटै स्थानीय तहका नगरप्रमुख,उपप्रमुख,प्रशासकीय अधिकृतहरुलाई सदरमुकाम गुलरिया बोलाएर सहकारी बिभागका उपसचिव बलराम लम्साल उपस्थिति र जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारुको रोहवरमा सहकारी संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरिएको बताए । कार्यबिधि,परिपत्र,दर्ता रेकर्ड,अनलाईन सफटवेयर,जिल्ला  डिभीजन सहरकारी कार्यालयसंग रहेको अधिकार र डकुमेण्ट दिएरसहकारी संस्थालाई स्थानीय सरकारमा हस्तान्तरण गरिएको उनको भनाइ छ ।
डिभीजन सहकारी कार्यालयका अनुसार गुलरिया कार्य क्षेत्र भएका ५६ सहकारी मध्ये ४७,राजापुरको ५१ मध्ये ५०, ्मधुवनको ४३ मध्ये ३३ , बाँसगढीको ५० मध्ये ४२, ठाकुरबाबाको ४७ मध्ये ३७ सहकारी  सम्बन्धित नगरपालिकामा हस्तान्तरण भएका छन् ।  यस्तै बढैया गाउँपालिका कार्य क्षेत्र भएका ५७ मध्ये ५२ तथा गेरुवा गाउपालिका कार्य क्षेत्र भएका ४० वटा सहकारी संस्था गाउपालिकामा हस्तान्तरण भएको सुचना अधिकारी सहकारी निरीक्षक कृष्णप्रसाद भट्टराईले बताए । 
हस्तान्तरण गरिएका सहकारीको सामूहिक सेयर ४१ करोड ५० लाख २९ हजार ९ सय १८ रुपैयाँ रहेको छ भने बचत २ अर्ब २७ करोड ९५ लाख ९ हजार ५ सय ७० र जगेडा कोष ३० करोड ४१ लाख ४३ हजार ३ सय ९० रुपैयाँ रहेको कार्यालयले जनाएको छ । त्यस्तै बाह्य ऋण २ अर्ब ६ करोड २० लाख ४७ हजार ७ सय १८ र सदस्यमा लगानी भएको ऋण ३ अर्ब १० करोड १४ लाख ९० हजार ८ सय ९२ रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख सहकारी अधिकृत वि.क.ले बताए।  
गुलरियाको न.पा.को ९वटा,  राजापुरको १,  मधुवनको  १०, बाँसगढीको ८ ,ठाकुरबाबाको १०, बढैया गाउँपालिकाको ५ वटा गरि ४५ वटा सहकारी संस्थाहरु भने प्रदेश सरकारमा हस्तान्तरण हुनेछन् । 
जिल्लाका ४०१ सहकारी संस्थाहरुमा ८६ हजार ९ सय ५ महिला र ४८ हजार २ सय २० पुरुष गरी १ लाख ३५ हजार १ सय २५ जना सेयर सदस्य रहेको र ती सहकारीमा करिव ६ सय जनाले रोजगारी पाएको सहकारी अधिकृत वि. क.ले बताए । 
बर्दियामा संचालनमा रहेका ४सय १ सहकारी मध्ये ६वटा जिल्ला संघ,७७ वटा बचत,७८वटा बहुउदेश्यीय,१९१वटा कृषि,१३वटा दुग्ध,१५वटा उपभोक्ता र २१ अन्य उदेश्यय राखि  दर्ता गरिएपनि ८०प्रतिशत भन्दा बढि सहकारीहरुको कारोवार  बचत संकलन तथा ऋृण लगानी रहेको अधिकृत वि कले बताए ।
बैकले सानो खालको लगानी नगर्ने भएकाले सहकारीको ऋृण लगानीमा स्थानीय बासिन्दाले उत्पादन तथा उत्पादकत्व बढाईे आत्मनिर्भरता बढाउनुका साथै स्थानीय सरकार र सहकारी संस्थाहरु बीचको साक्षेदारीमा विकास तथा उद्योधन्दामा लगानी भई स्थानीय स्तरमा रोजगारी तथा आयआर्जन सृजना भई हस्तान्तरीत सहकारीहरुबाट थप लाभ पुग्ने डिभीजन सहकारी कार्यालय बर्दियाका अधिकृत लक्ष्मीकुमार वि.क.को विश्वास छ ।

Comments