पी सी एन /लुम्बिनी पत्र
बाँसगढी,जेठ २७ । निर्मार्णाधीन अवस्थामा रहेका अधिकांश राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक तरिकाले पनि काम हुन नसकिरहेको अवस्थामा राष्ट्रिय गौरवकै भेरी बबई डाइभर्सन आयोजनाको काम भने उत्साहजनक रुपमा अघि बढेको छ । चीनबाट टनेल बोडिङ मेसिन (टीबीएम) ल्याई सुरुङ खन्न सुरुपछि यो आयोजनाको काम उत्साहजनक रुपमा अघि बढेको हो ।
कुल १२ किलोमिटर सुरुङमध्ये अहिलेसम्म ४.८८ किलोमिटर खनिएको आयोजना प्रमुख शिवकुमार बस्नेत बताउँछन् ।उनका अनुसार कात्तिकको अन्तिम साताबाट काम थालेको यो मेसीनले अहिले दैनिक ३५ मिटरसम्म सुरुङ खन्ने गरेको छ । सुरुमा टनेल बोडिङ मेसिन (टीबीएम ले दैनिक २० मिटर मात्रै खन्ने आंकलन गरिएको थियो । तर, अहिले आकलन गरिएको भन्दा मेसीनले झन्डै दोब्बर बढी सुरुङ खनिरहेको छ । उनले भने ‘दैनिक ३५ मिटर सुरुङ खन्न सम्भव होला भन्ने हामीले पनि अनुमान पनि गरेका थिएनौं, तर भौगोलिक सहजताका कारण हामीले सोचेभन्दा बढी काम भइसकेको छ ।’
अधिकांशले चालु आर्थिक वर्ष २०७४÷७५ मा बिनियोजन गरेको बजेट नै पूर्णरुपमा खर्च गर्न सकेका छैनन् । तर, भेरी बबई डाइभर्सन आयोजनाले भने सुरुमा बिनियोजित बजेटको झन्डै चार गुणा बढी खर्च गर्दैछ ।
सुरुमा टिबिएम मेसीन जडान गर्न परम्परागत ढंगले खनेका कारण १५० मिटर सुरुङ खन्न झन्डै ८० दिन लागेको थियो । वस्नेतका अनुसार अहिलेम्म करिब ४० प्रतिशत काम सकिएको छ । राष्ट्रिय गौरवको यो आयोजनाका लागि खन्नुपर्ने कुल १२ मध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ अब केहि समयपछि सुरुङ खन्ने काम सुरु हुनेछ । बस्नेतले भने ‘अब १ किलोमिटर पछि जोखिमयुक्त स्थान आउने हाम्रो आकलन छ, त्यसपछि मात्रै थाहा हुन्छ काम कहिले सकिन्छ भन्ने ।’
सन् २०२० सम्ममा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्य छ । मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्नेछ ।
राष्ट्रिय गौरबका ४ वटा आयोजनामध्ये ३ वटाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको पूरै रकम पनि खर्च गर्न सकेका छैनन् । तर, भेरी बबई डाइभर्सनमा सुरुमा बिनियोजन गरेको भन्दा चार गुणा रकम खर्च हुने भएको छ । बस्नेतका अनुसार चालु आर्थिक वर्षको बजेटमा सरकारले यो आयोजनाका लागि ८८ करोड बजेट बिनियोजन गरेको थियो । त्यो रकम सकेर आयोजनाले थप २ अर्ब ५ करोड रकम पनि सक्न लागिसकेको छ । र, आयोजनाका लागि अझै डेढ अर्ब रकम आवश्यक परेको बस्नेत बताउँछन् ।
बस्नेतका अनुसार आयोजना सम्पन्न भएपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुनेछ भने ४८ मेगावाट विद्युत उत्पादन हुनेछ । सिंचाइका लागि सुरुङ खन्ने काम अघि बढे पनि बिजुली उत्पादनका लागि आयोजनाले काम अघि बढाएको छैन । विद्युत्त उत्पादनका लागि चिप्लेमा हेडवर्क्स र हात्तीखालमा पावरहाउस बनाउनुपर्छ । तर, यसका लागि टेण्डरसमेत भएको छैन ।आयोजना प्रमुख बस्नेतले भने, ‘जोखिमयुक्त भाग खनेर सकेपछि जलविद्युतको काम अघि बढाउने सोचमा छौं ।’ अहिले जलविद्युत गृह निर्माणका लागि आयोजनाले टेबल वर्क्समा मात्रै काम गरिरहेको छ ।
सुरुवातमा १२ अर्ब ६३ करोड लागत अनुमान गरिएकोमा अहिले यस्तो लागत १६ अर्ब ४३ करोड लाग्ने आकलन छ । आर्थिक वर्ष ०६८÷६९ मा अगाडि बढाइएको यो आयोजना आर्थिक वर्ष ०७७÷७८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
फूलपातीको अवसर पारेर तत्कालनि सिँचाई मन्त्री संजयकुमार गौतमले मेसिनको स्वीच थिचेर उद्घाटन गरी राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको भेरी(बबई नदी बीचको सुरूङ खन्ने काम शुरुवात गराएका थिए ।
नेपालमै पहिलो पटक चुरे पहाडमा प्रयोग स्वरुप सुरु गरिएको (टीवीएम) मेसिन पाकिस्तानको नेलम झेलममा प्रयोग भैसकेको छ । नेपालको शिवालिक (चुरेक्षेत्रमा) प्रयोग गरिएको मेसिनको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजनाहरुमा समेत सफलता मिल्ने पुर्व सिँचाईमन्त्री संजयकुमार गौतको भनाइ छ ।
Comments
Post a Comment