लुम्बिनी पत्र / पी सी एन
नेपालगञ्ज, असार २६ । मासु, अण्डा तथा दुध लगायतका पशुजन्य उत्पादनको उत्पादन,बिक्री तथा बजारको निकै राम्रो संभावना बोकेको बाँके जिल्लामा मासु पसलहरु व्यवस्थित गर्न र भारतबाट हुने ब्रोइलर कुखुराको आयातलाई रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले कडाइ गरेको छ ।
प्रेस क्लब अफ नेपाल र लुम्बिनी पत्रसंगको कुराकानीमा नेपालगञ्ज उपमहानगरापलिका पशुसेवा शाखाका प्रमुख डा. अपार पौडेलले खुला सीमानाका कारण भारतबाट अवैधरुपमा आयात हुने कुखुराहरुबाट बर्डफ्लु भित्रने संभावना रहेकाले उपभोक्ता, प्रहरी प्रशासन, वडा कमिटी, उपमहानगरपालिका सबैको सामुहिक प्रयासमा त्यस्ता कुखुरा भित्रिन नदिन विशेष चासो दिनुपर्ने बताए।
हेल्थ सर्टिफिकेट भएपनि भारतबाट नेपालतर्फ ल्याइने कुखुरा, अण्डाबाट बर्डफ्लु भित्रिने जोखिम धेरै रहेकाले त्यस्ता कुखुरा भित्रिन नदिन नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाले विशेष निगरानी गरिरहेको प्रष्टाउदै उपभोक्ताहरुलमई पनि त्यसतर्फ सचेत रहनु पर्नेमा डा. पौडेलको जोड छ ।
उनले भारतीय बजारबाट साइकलमा हालेर ब्रोइलर कुखुरा ल्याएमा त्यस्ता कुखुरा नियन्त्रण लिई नष्ट गरिने प्रष्ट पारे । डा. पौडेलले बाहिर झुण्डयाएको मासु र खुला दुध खाने बानीमा सुधार गर्न उपभोक्तालाई आग्रह गर्दे अव्यवस्थित रुपमा सञ्चालनमा रहेका मासु पसलहरुले तत्काल उचित व्यवस्थापन नगरे त्यस्ता मासु पसलहरुलाई कारवाही अभियान शुरु गर्ने पनि बताए ।
उनले जैविक सुरक्षा नभएका फार्महरु, राम्रोसंग सञ्चालन हुन नसकेका गाइ फार्महरु , भोकै प्यासै , भौतिक असुविधाको र डर त्रास तनावका बीच इट्टाभट्टामा काम गरिरहेका दयनीय घोडाहरुको अवस्था सुधार लगायत एनिमल राइटको सवालमा पनि उपमहानगरपालिका र सबै मिलेर काम गर्नुपर्ने अवस्था बताए ।
२०७४ साल साउन १८गते यता नेपालगञ्ज उपमहानगरपालिकाको पशु स्वास्थ्य शाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आनएका डा. अपार पौडेलको नेतृत्वमा अनुसार आर्थिक बर्ष ०७४÷७५मा उपमहानगपालिकाले पशु सेवा तर्फ बिभिन्न रचनात्मक काम गरेको छ ।
Comments
Post a Comment