Skip to main content
बारबर्दिया नेपालको पहिलो अनिवार्य आधारभुत निःशुल्क शिक्षाको सुनिश्चितता गरेको नगरपालिका घोषणा
लुम्बिनी पत्र /पी सी एन
बारबर्दिया, असार २८। बर्दियाको बार बर्दिया नगरपालिका बालबालिकाहरुको अनिवार्य आधारभुत निःशुल्क शिक्षाको सुनिश्चितता गरेको नेपालको पहिलो नगरपालिका भएको छ ।
नगर क्षेत्रभित्र विद्यालय उमेर समुहका कोही पनि बालबालिका विद्यालय बाहिर नरहेपछि नेपाल सरकारका शिक्षा,विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले अंशुवर्मा माध्यमिक बिद्यालयमा आयोजित सभामा सो नगरपालिकालाई आधारभूत निःशुल्क शिक्षाको सुनिश्चतता भएको नगरपालिका घोषणा गरेका हुन ।
७५३ तह मध्ये बार बर्दिया नगरपालिकाले अनिवार्य आधारभुत निःशुल्क शिक्षाको सुनिश्चितता गर्ने पहिलो नगरपालिका बनेकोमा मन्त्री पोखरेलले नगरप्रमुख दुर्गाबहादुर थारु लगायत नगरपालिकालाई धन्यवाद दिदै संघीय सरकारका तर्फबाट नगरपालिकालाई शिक्षा विकासमा भरपुर सहयोग गर्ने आश्वासन दिए ।
मन्त्री पोखरेलले अनिर्वाय निशुल्क आधारभूत शिक्षाको सुनिश्चितता गर्नको लागि मन्त्री परिषद्को निर्णयलाई कार्यान्वयन गर्ने बारबर्दिया नगरपालिका पहिलो नगरपालिका भएकोमा धन्यवाद एंव बधाइदिदै सबै पालिकाहरुले पनि बारबर्दिया नगरपालिकाबाट पाठ सिक्नुपर्ने बताए । शिक्षा पेशालाई जागिर खाने ठाँउको रुपमा नलिई यसलाई राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारी लिने ब्यक्तिको रुपमा सम्झिनु पर्ने धारणा राख्दै मन्त्री पोखरेलले जीवनोपयोगी तथा उत्पादनमुखी शिक्षा अबको प्राथमिकता हुनु पर्ने बताए।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलयको ७५३ वटै स्थानीय तहलाइ भदौ ३१गतेभित्र अनिवार्य आधारभुत निःशुल्क शिक्षाको मापदण्ड पुरा गर्न पत्राचार गरे अनुरुप बारबर्दियाले आवश्यक सबै मापदण्ड पुरा गरि अनिवार्य आधारभुत निःशुल्क शिक्षाको सुनिश्चितता भएको नगरपालिका घोषणा भएको उनको भनाइ थियो ।
कार्यक्रममा नगरप्रमुख दुर्गाबहादुर थारुले बारबर्दियामा बहुउदेश्यीय पोलिटेिक्नक इन्स्टिीच्यट स्थापना एंव सञ्चालन गर्न नगरपालिकाले आठ बिगाह जग्गा खोजी आवश्यक तैयारी शुरु गरेको बताउदै सोको स्थापनामा सहयोग पुरयाउन शिक्षामन्त्री पोखरेलसंग मांँग प्रस्तुत गरे । अनिवार्य आधारभुत निशुल्क शिक्षाको सुनिश्तिता भएको नगरपालिका घोषणा भएकोमा खुशी ब्यक्त गर्दे प्रतिनिधि सभा सदस्य सन्तकुमार थारुले पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्न सांसद विकास कोषबाट १ करोड रकम उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सभाका सदस्यहरु तिलकराम शर्मा र कुलप्रसाद पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांग, शिक्षा विकास समन्वय इकाई बर्दियाका प्रमुख नीलकण्ठ रेग्मी , बारबर्दिया नगरपालिका शिक्षाशाखा प्रमुख टिकानाथ गोसाइ समेतले धारणा राखेका थिए ।बार बर्दिया नगरपालिकामा यस अघि माध्यमिक विद्यालयको नेतृत्वमा ९वटै वडालाई आधारभुत शिक्षाको सुनिश्चितता भएको वडा घोषणा गरिएको थियो । नगरपलिकाले भर्ना अभियान, घरदैलो, अभिभावक अन्तरकृया लगायतका कार्यक्रम गरि विद्यालय बाहिर रहेका २८७ जना बालबालिकालाई यस बर्ष विद्यालयमा ल्याइ कोही पनि बालबालिका विद्यालय बाहिर नभएपछि शिक्षा मन्त्रालयले बारबर्दिया नगरपालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता गरेको नगरपालिका घोषणा गरेको हो ।
शिक्षा क्षेत्रको गुणस्तर बृद्धि र सुधारलाई प्रमुख प्राथमिकतामा राखेको नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नगरक्षेत्रका प्रधानाध्यापकहरुलाई ३०बुँदे प्रतिबद्धता गराएको थियो ।
बार बर्दिया नगर क्षेत्रका ४३वटा सामुदायिक विद्यालयमा हाल १४हजार ८सय ५, १६ सस्थागत विद्यालयमा ३हजार ८सय ६४ जना र बालकक्षामा १हजार ८९सय १९जना बालबालिका अध्यययन गरिरहको प्रमुख प्रशासकीय अधिकृत शशिधर घिमिरेले बताए ।
Comments
Post a Comment