जनप्रतिनिधिहरुका लागि शिक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न



लुम्बिनी पत्र /  पी सी एन
गुलरिया, साउन १४ । स्थानीय सरकारका जनप्रतिनिधिहरुका लागि शिक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सोमवार गुलरियामा सम्पन्न भएको छ ।
शिक्षा विज्ञान प्रविधि मन्त्रालय शिक्षा बिभागको आयोजनामा भएको कार्यक्रममा बर्दिया जिल्लामा प्रारम्भिक तथा आधारभुत देखि माध्यामिक तह सम्मको शिक्षालाई संवैधानिक प्रावधान बमोजिम अनिवार्य , निःशुल्क, गुणस्तरीय र व्यवस्थित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुुरुम्बांगले गुणस्तरीय शिक्षा बिना समृद्धि हासिल गर्न नसकिने प्रष्ट पार्दै राजनैतिक हस्तक्षेपबाट शिक्षा क्षेत्रलाई मुक्त राख्नुपर्ने बताए । शिक्षा प्रशासन नसुधारेसम्म समृद्धि हासिल हुन नसक्ने बताउदै प्रजिअ कुरुम्बांगले सुचना तथा प्रविधिमा आधारित शिक्षालाई जोड दिन स्थानीय तहका जनप्रतिनिधिलाई सुभलाव दिए । उनले बर्दियामा भौतिक पुर्वाधारको काम एक दुइ बर्षभित्र पुरा हुने भन्दै अब शिक्षा तथा स्वाथ्य,खानेपानी तथा विपद व्यवस्थापनका क्षेत्रमा स्थानीय तहले लगानी बढाउनु पर्ने बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रमाकान्त शर्माले संविधानको मौलिक हक ,निर्देशक निर्देशक सिद्धान्तमा शिक्षालाई जोड दिइएको बताउदै स्थानीय तहले पनि शिक्षा क्षेत्रमा लगानी गरे भविष्यमा समाज तथा राष्ट्रले दिगो प्रतिफल प्राप्त गर्ने बताए। निर्देशक शर्माले समाजवाद उन्मुख राज्य प्रणाली स्थापना गर्न विषमता घटाउने र समानता ल्याउन जरुरी हुने बताउदै त्यसका लागि शिक्षामा लगानी गर्न जरुरी  रहेको धारणा राखे ।आधारभुत तहको शिक्षामा लगानी गरेका कारण प्राविधिक दक्षतामा  चीन अगाडि बढेको शर्माको भनाइ छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत कुमार बस्नेतले आधारभुत तहमा गुणस्तरीय शिक्षा प्रदान गर्न ल्याइएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई सबै तहले पुर्ण सफल बनाउनु पर्ने बताए ।


शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नीलकण्ठ रेग्मीले सञ्चालन गरेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु, उपप्रमुख मानबहादुर बिष्ट, बांसगढी नगरपालिकाका प्रमुख शालीकराम अधिकारी, बढैयाताल गाउपालिका प्रमुख लालबहादुर श्रेष्ठ, ठाकुरबाबा नगरपालिका प्रमुख घननारायण श्रेष्ठ, राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरी, गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी, गेरुवा गाँउपालिका उपाध्यक्ष हिमकुमारी थारु, मुधुवन नगरपालिका प्रमुख सुवरानी थारु, गुलरिया शिक्षा शाखा प्रमुख सतीश यादव, मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख पुण्य न्यौपाने लगायतले आ–आफनो स्थानीय तहमा शिक्षा विकासका लागि भए गरेका प्रयास बारे विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द पौडेल, राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी,बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरी, बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतम लगायतको पनि सहभागिता थियो ।


Comments