पी सी एन /लुम्बिनी पत्र
लहान , साउन ५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको  ७० हजार रुपैयाँसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद ७० हजार रुपैयाँ बरामद भएको जानकारी दिए ।
सकरपुरामा सडक निर्माणको योजना मिलाई दिएबापत मण्डलले उपभोक्ता समितिबाट कमिसनबापत उक्त रकम लिएको अख्तियारको टोलीले जनाएको छ ।
अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा राखेको जनाएको छ । 

Comments