के.सी.का माँग अविलम्ब सम्बोधन गर : सम्पादकहरु

पी सी एन / लुम्बिनी पत्रकाठमाडौ, ७साउन । चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राख्दै २३ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका मागप्रति सम्पादकहरुले ऐक्यवद्धता जनाएका छन्। आइतबार शिक्षण अस्पताल पुगेर सम्पादकहरुले केसीका मागप्रति ऐक्यवद्धता जनाएका हुन्। ऐक्यवद्धता जनाउनेमा सम्पादकहरुमा राजाराम गौतम, अमित ढकाल, कृष्णज्वाला देवकोटा, गोविन्द अधिकारी,नारायण वाग्ले, किरण नेपाल, राजेश केसी, प्रतिक प्रधान,सुधीर शर्मा, सुवास घिमिरे, गुणराज लुइटेल, अखिलेश उपाध्याय, प्रकाश रिमाल, प्रशान्त अर्याल रहेका छन् । प्रमुख मिडियाका सम्पादकहरुले केसीको अनसन लम्बिएको प्रति चिन्ता व्यक्त गरेका छन्। ‘डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि गरिरहेको आमरण अनसन लम्बिएको प्रति हामी चिन्तित छौँ’, सम्पादकहरुको अपीलमा भनिएको छ।यसअघिका सरकारले डा. केसीका मागमा सहमति गरेर कार्यान्वयन नगरेका कारण १५ औं पटक अनसन बस्नु परेको सम्पादकहरुको ठहर छ। पटक–पटकको अनसनले डा. केसीको जीवन नै संकटमा परेको भन्दै उनीहरुले उनको सत्याग्रहप्रति ऐक्यवद्धता जनाएका हुन्। ‘यस अघिका सबै मुख्य दलका सरकारले मागमा सहमति गरे पनि कार्यान्वयन नगरेका कारण सत्याग्रहको शृङ्खला १५ औं पटक पुगेको छ। यसले गर्दा पटकपटक अनसन र लम्बिदो उपक्रमले डा. केसीको जीवन नै संकटमा परेको छ’, सम्पादकहरुको अपीलमा भनिएको छ, ‘हामी डा. केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँछौँ। सँगै उहाँका माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्छौँ।’ 


Comments