पी सी एन/ लुम्बिनी पत्र
नेपालगञ्ज, साउन ६। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजस्व संकलन गरेको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०७४/ ७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेकोमा भन्सार कार्यालय नेपालगन्जले १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको निमित्त प्रमुख भन्सार अधिकृत माधवप्रसाद आचार्यले बताए। हामीले लक्ष्यभन्दा २३ प्रतिशतले बढी राजस्व संकलन गरेका छौ :उनले भने ।
निमित्त प्रमुख भन्सार अधिकृत माधवप्रसाद आचार्यले आर्थिक वर्ष २०७३/०७४ को भन्दा आर्थिक वर्ष ०७४/०७५ मा ३ अर्ब ६ करोड ४९ लाख बढी राजस्व संकलन भएको बताए।
सबैभन्दा बढी राजस्व हाईस्पीड डिजेलबाट संकलन भएको छ । हाई स्पीड डिजेलबाट १ अर्ब ७१ करोड ७८ लाख ९ हजार, पेट्रोलबाट ६७ करोड १६ लाख ६४ हजार ८ सय, सिमेन्ट क्लिङकरबाछ ५० करोड, ६७ लाख ६५ हजार, चामल तथा कनिकाबाट ४० करोड ८७ लाख ७४ हजार राजस्व संकलन भएको छ ।
नेपालगन्ज भन्सार कार्यालय हुँदै आयात हुने एलपी ग्याँस, चिनि, खरानी स्ल्याग, प्लास्टिकका सिट, फिल्म, फ्वाईल, दाना पत्ता आदी, कपर स्क्रप, पत्थर कोईला, भेनियर सिट, सिमेन्ट खौरो, एटिएफलगायत गरी विभिन्न २२ प्रकारका बस्तुहरु नियमित आयातबाट पनि राजस्व संकलन भएको भन्सारले जनाएको छ ।
उनले नेपालगन्ज भन्सार कार्यालय हुँदै निकासीको अवस्था भने अत्यन्तै नाजुक रहेको बताए । उनले आर्थिक वर्ष २०७४र/०७५ मा नेपालगन्ज भन्सार कार्यालयबाट ६२ लाख १८ हजार ७ सय १ रुपैया रजस्व संकलन भएको जानकारी दिए ।
नेपालगन्ज भन्सारबाट बनस्पति जन्य उत्पादनहरु, जडिबुटी, गहुँको पिठो, राँगाको फ्रोजन मासु, तार्पिन तेल, रोजिन, नौनी बटर, एसेन्सीयल आएल, अदुवा सुठो, रद्दी कागज, फलामे पत्रु चोकर, भुस, पिना लगायतका विभिन्न २२ शिर्षक बस्तुहरु नियमित निकासी हुने गरेको तथ्याङ्क भन्सार कार्यालयले दिएको छ ।
निमित प्रमुख आचार्यले भन्सार विभागले चालु आर्थिक वर्षको लागि १२ अर्व ३३ करोड भन्सार राजस्व लक्ष नेपालगन्ज कार्यालयलाई दिएको जानकारी दिए । ‘हरेक आर्थिक वर्षको साउन महिनामा लक्ष पुराउन अलि कठिन हुने भएपनि अन्य महिनामा भने लक्षभन्दा वढी नै राजस्व संकलन हुने ट्रेण्डले पनि भन्सार विभागले यो वर्ष गत आर्थिक वर्षको भन्दा ४ अर्व बढि राजस्व लक्ष दिएको छ’–उनले भने–‘ हेर्दा अलि चुनौती देखिए पनि सहजै लक्ष पुरा गर्ने संकल्प लिएका छौ ।’ : उनले भने ।
Comments
Post a Comment