खजुरा गाउपालिकाले ४९करोड ९४लाख १७ हजारको बजेट पारित गर्यो


लुम्बिनी पत्र/ पी सी एन
खजुरा, असार २८। खजुरा गाउपालिका कार्यालयले आर्थिक बर्ष २०७५/७६मा गाउपालिका आफैले ४४ वटा र अन्य योजनाहरु वडा कार्यालयहरुले गर्ने गरि  बिभिन्न योजनामा ४९करोड ९४लाख १७ हजार रुपैया खर्च गर्ने गरि बजेट पारित गरेको छ । 
असार १०गते शुरु भई २५ गते सकिएको तेस्रो गाउँसभाले आर्थिक तथा विनियोजन विधेयक पारित गर्दे सो बजेट पारित गरेको हो । 
विनियोजन विधेयकले पुर्वाधार तर्फ ९करोड ६८लाख, सामाजिक विकास तर्फ २करोड ९६लाख ४८हजार, आर्थिक विकासमा १करोड, वातावरण तथा विपद व्यवस्थापनमा ५५लाख, र सुशासन तथा संस्थागत विकासमा ७०लाख रुपैया बिनियोजन गरेको सुचना अधिकारी दिलबहादुर पौडेलले बताए । 
लुम्बिनी पत्र र प्रेस क्लब अफ नेपालसंगको कुराकानीमा सुचना अधिकारी पौडेलले गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले पेश गर्नु भएको नीति तथा कार्यक्रममा आधारित भई उपाध्यक्ष एकमाया वि.क. ले प्रस्तुत गरेको बजेटमा  सभा तथा समितिमा व्यापक छलफल भई सभाले बजेट पारित गरेको बताए । 
आर्थिक बर्ष २०७५/७६का लागि पारित बजेटले गाउँपालिका गौरवको  योजना अन्र्तगत सबै वडा कार्यालयहरु छुने गरि  सडक कालोपत्रे गर्ने, बहुउदेश्ययीय सभागृह भवन निर्माण गर्ने र  सोलार बती जडानलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । 
यस्तै बजेटले क्रमागत योजना अन्र्तगत चिल्ड्रेन पार्क निर्माण, सडक ग्राभेल तथा माटो पटान  कार्यलाई प्राथमिकतामा राखेको छ । 
सभाले स्वीकृत गरेको आर्थिक बिधेयेक २०७५लाई ऐनको रुपमा प्रकाशित गरि १गतेदेखि कार्यान्वयनमा ल्याइने छ । 
खजुरा गाउँपालिकाले आर्थिक बर्ष २०७५÷/७६का लागि पारित गरेको बजेटमा मनमोहन पार्क, चिल्डेन पार्क  तथा खेल मैदान निर्माण, बिधुतीकरण,  ह्युम पाईप जडान, संचार तथा प्रचारप्रसार, लागु पर्दाथ प्रयोग बिरुद्ध सचेतना, बालमैत्री वडा घोषणा तथा बालमैत्री अवलम्बन कार्यक्रम, मनकामनापुरमा धर्मशाला निर्माण, स्वास्थ्य कार्यक्रम, विपन्नलाई घर निर्माणमा जस्तापाता सहयोग, बालविकास केन्द्रलाईको विकास, युवा लक्षित स्वरोजगार कार्यक्रम, भिलेज प्रोफाईल निर्माण गर्ने लगायतका कृयाकलाप तथा कार्यक्रम  गाउँपालिकाले सञ्चालन गर्ने उल्लेख छ । 
बजेटले संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदान,समानीकरण अनुदान र राजस्व बाडफाडबाट प्राप्त हुने रकम, प्रदेश सरकारबाट प्राप्त हुने सर्शत अनुदान , समानीकरण अनुदान , राजस्व बाडफाडबाट प्राप्त हुने रकम, गाउँपालिकाले उठाउने कर र राजस्व तथा चालु आर्थिक बर्ष २०७४÷७५ मा खर्च गर्न नसकि अगाडिबाट ल्याएको रकमलाई बजेटको मुख्य आम्दानीको स्रोत मानिएको छ । 
प्रस्तावित बजेटमा १४करोड ८९लाख ४८ हजार समानीकरणबाट , २१करोड २२लाख संघीय सरकारले योजना बनाएर पठाएको शिक्षा,स्वास्थ्य,कृषि,महिला विकासका कार्यक्रम  अर्थात सशर्त अनुदानबाट , ९६लाख प्रदेश सरकारको सशर्त कार्यक्रम र १करोड राजस्व संकलनबाट प्राप्त हुने  अनुमान छ । 
सभाले प्रत्येक वडालाई ८० लाखका दरले ८ वडालाई ६करोड ४०लाख बराबरको वडा स्तरीय कार्यक्रम सञ्चालन गर्न अनुमति पनि प्रदान गरेको छ ।  


Comments