प्रेस क्लब / लुम्बिनी पत्र
नेपालगञ्ज, असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मोत्सव नेपालगन्जमा मनाएका छन् । पहिलो पटक नेपालगन्जमा पूर्व राजा शाहले आफ्नो जन्मोत्सव मनाइरहँदा शुभचिन्तक र शुभेच्छुकले उनको सुस्वास्थ्य र दर्घायुको कामना गरिरहेका थिए । नेपालगन्ज स्थित सोल्टी होटलमा शुभचिन्तक तथा शुभच्छुकहरुका वीच पूर्व राजा शाहले जन्म दिन मनाउँदा शुभकामना प्रदान गर्दै कतिपयले आफ्ना भावना पोखे भने कतिले शुभकामना दिएर रमाए । नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि पूर्वराजा शाहले काठमाडौं बाहिर नेपालगन्जमा पहिलो पटक जन्मोत्सव मनाउने भएपछि पूर्व राजपरिवारका सदस्यसहित पूर्व राजा शाह असार २० गते नै नेपालगन्ज पुगिसकेका थिए ।
पूर्वराजाको जन्मोत्सवका अवसरमा बाँके, बर्दिया, दाङ, सुर्खेतलगायतका जिल्लाबाट मात्र नभई पूर्व दोलखा, काठमाडौं लगायतका ठाउँबाट उनका शुभचिन्तक नेपालगन्ज पुगेर शुभकामना दिएका थिए । राजधानी बाहिर यसरी पूर्वराजाको जन्म दिन मनाउन पाउँदा शुभचिन्तकहरुले खुशी व्यक्त गरेका छन् । जन्म दिनकै अवसरमा पूर्व राजा शाहले नेपालगन्जको प्रसिद्ध वागेश्वरी मन्दिरमा पुगेर पूजाआजा गरे । पूर्व रानी कोमल, पूर्व युवराज पारस, पूर्व युवराज्ञी हिमानीलगायत पूर्व राजपरिवारका सदस्य पनि पूर्व राजाको साथ केही दिनदेखि नेपालगन्जमै छन् । विहान ११ बजेदेखि शुरु भएको जन्मोत्सव समारोह ३ घण्टासम्म लगातार चलेको थियो ।
Comments
Post a Comment