पी सी एन/ लुम्बिनी पत्र
नेपालगञ्ज, असार २३ । स्थानीय सञ्चार माध्यमको दिगो विकास र गुणस्तर बृद्धिका लागि स्थानीय तह र सरकारी निकायले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेले शनिवार नेपालगञ्जको न्युरोडस्थित स्वस्तिक होटलमा आयोजना गरेको सञ्चारगृह र प्रकाशनको अवस्थाबारे अन्तरकृया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै सम्पादक प्रकाशक समाज बाँकेका अध्यक्ष शिव डोटेलले सरकारी निकाय र स्थानीय तहका केही कर्मचारीले कमीशनका आधारमा मिडियालाई विज्ञापन दिने परिपाटीको अन्त्य गर्न सबैले चासो दिनुपर्ने बताए । मिडिया मिडिया बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिदै उनले स्थानीय स्तरमा कार्यालय,शाखा खोल्ने बैंक, सरकारी निकायहरु अनिवार्य रुपमा लोकल पत्रिकाको वार्षिक ग्राहक बन्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले स्थानीय मिडियाको प्रर्वद्धन नेपाल पत्रकार महासंघको प्राथमिकतामा रहेको बताउदै स्थानीय मिडियाको सशक्तिकरण र दिगो विकास स्थानीय सरकारको पनि प्राथमिकतामा पर्नुपर्ने बताए । रेडियो कृष्णसार एफ. एम.का स्टेशन मेनेजर तुला अधिकारीले निर्वाचित भएको एक बर्ष पुगिसक्दा पनि नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय सञ्चारमाध्यमसंग सहकार्य र समन्वय गर्न नखोजेको बताउदै स्थानीय मिडियाको दीगो विकासमा ध्यान दिन सञ्चारगृह, नेपाल पत्रकार महासंघ, स्थानीय तह र सरकारी निकाय एक ठाउमा बसेर विशेष नीति बनाउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरले नेपालगञ्ज उपमहानगरपालिका मिडियामैत्री नभएको बताउदै स्थानीय सञ्चार गृहको दिगो विकासमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरे । स्थानीय सञ्चारगृहसुदृढ भएमा मात्र स्थानीय तहको छिटोछरितो र गुणस्तरी विकास निर्माण र समृद्धि हुने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ बाँकेका सचिव तिलक गाउँले, पुर्व अध्यक्ष निरज शर्मा,हेमन्त कर्माचार्य, लोकप्रिय दैनिकका प्रकाशक सम्पादक गोविन्द शर्मा, सदभाव दैनिकका प्रकाशक सम्पादक दामोदर भण्डारीले मिडियाको विकासका लागि स्थानीय तह र सरकारी निकायले स्थानीय मिडियालाई पर्याप्त मात्रामा विज्ञापन,कार्यक्रम दिनुपर्ने बताए ।
Comments
Post a Comment