नागरिक मैत्री सेवा दिलाउछु : प्रहरी उपरीक्षक मैनाली


लुम्बिनी पत्र / पी सी एन
गुलरिया, साउन ३० । बर्दियामा भर्खरै सरुवा भएर आएका बर्दियाका नव प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले प्रहरी भित्र देखिएका कमि कमजोरी हटाइ जिल्लामा नागरिकमैत्री सेवा दिलाइ शान्तिसुरक्षाको भरपुर व्यवस्था मिलाउनु आफनो प्राथमिकता रहेको बताएका छन्। 
जिल्लाका  सञ्चारकर्मीहरुसंग जिल्ला प्रहरी कार्यालय गुलरियामा बुधवार आयोजित परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक मैनालीले प्रहरी भित्र देखिएका कमिकमजोरी हटाई गृहमन्त्रीको ८२बुदे र प्रहरी महानिरीक्षकको १०बँुदे योजनालाई ध्यानमा राखेर जिल्लाको सुरक्षा कार्ययोजना बनाई अघि बढने प्रष्ट पारे । 
प्रहरीमा सुधार गर्न जरुरी छ । तपाइ हामी सबै चेन्जमा लाग्नुपर्छ । तपाइहरुले सहयोग गर्नुहोस् । डे टु डे चेन्ज भएको देख्नु हुन्छ । चेन्ज गर्न हामीमा पनि सुधार हुनुपर्छ , गेस्चर र पोस्चर ठिक नभएकाले प्रभावकारी सेवा दिन सक्दैनन उनले भने । 
बर्दियालाई आत्महत्या ,घरेलु हिंसा,लागु औषध,मादकपदार्थ मुक्त बनाउनका लागि कानुनी कारवाहीको साथै सचेतना महत्वपुर्ण हुने भन्दै प्रहरी उपरीक्षक मैनालीले  आफना मातहतका युनिट मार्फत त्यसका लागि सचेतना कार्यक्रम पनि चलाउने बताए । 
प्रहरीको मुख्य काम शान्ति सुरक्षा कायम गर्ने हो, बर्दियालाइ शान्त बनाउने काम गरौं त्यसका लागि मिडियाका साथीहरुले पनि सहयोग गर्नुपर्छ प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी, प्रेस क्लब लुम्बिनी पत्रका अध्यक्ष यम घिमिरे, पत्रकार महासंघका उपाध्यक्ष यादव आचार्य, सचिव भावुक योगी, प्रेस चौतारीका अध्यक्ष डिलप्रकाश गौतम लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Comments