डाक्टरहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाए, नेपाल चिकीत्सक संघ बाँके पनि आन्दोलनमा


पी सी एन/ लुम्बिनी पत्र
नेपालगञ्ज, भदौ १७ । नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स आज नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् । 
काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेपछि डाक्टरहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर ६ हजार डाक्टरको लाइसेन्स काउन्सिललाई बुझाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायण थापालाई लाइसेन्स बुझाएको डाक्टर बद्री रिजालले जानकारी दिनुभयो । नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि डाक्टरहरुले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने भन्दै आन्दोलन सुरु गरेका हुन् । 
डाक्टरहरुको आन्दोलनका कारण आज बर्दिया , बाँके लगायत  देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेको हो । डाक्टरहरुको आन्दोलनका कारण अस्पतालमा उपचार गर्न पुगेका बिरामीहरु समस्यामा परेका छन् । 
संघले भोलि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, पर्सि आकस्मिकबाहेकका बिरामी भर्ना नगर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द तथा शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा माग पुरा नभए सम्म बन्द गर्ने घोषणा गरेको नेपाल मेडिकल एशोसियसन भेरीका सल्लाहकार संकेत रिसालले बताए । ।
देशब्यापी कार्यक्रम अनुसार नेपाल चिकीत्सक संघ नेपालगंज बाँकेले पनि आफनो आन्दोलन र माग बारे जानकारी सहित प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापन पत्र बुझाएको छ । चिकीत्सक संघका अध्यक्ष डाक्टर बिनोद कर्ण नेतृत्वमा गएको डाक्टरहरुको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले संम्बन्धित निकाय सम्म पठाउने बताउनुभएको थियो । भेरी अञ्चल अस्पताल, वेष्टन अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज र कोहलपुर लगायतका अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुमा सेवारत स्वास्थ्यकर्मी तथा डाक्टरहरुले काम गर्ने सहज वातावरण नभएकोले वाध्य भई आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिएका थिए ।

नेपाल चिकित्सक संघ नेपालगंज बाँकेका अनुसार १ सय १३ जना चिकित्सकहरु यसक्षेत्रमा सेवारत छन । उनीहरुले आफनो लाइसेन्स समेत नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन । चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, “यही भदौं १ गते देखी लागुभएको नयाँ मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा ब्यवहार गर्ने तर्फ लक्षित भएको एवं यसले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने भएकोले संघको गम्भिर ध्यानाकर्षण भएको छ ।” १५ गते सम्म ऐन संशोधन गर्न आफुहरुले दिएको समयवधिलाई पनि सरकारले बेवास्था गरेको चिकित्सकहरुले आरोप छ । उता चिकित्सकहरुको आन्दोलनका कारण उपचारका लागी पुगेका विरामीहरु मर्कामा परेका छन । स्वास्थ्य समस्या लिएर अस्पताल सम्म पुग्ने टाढाका विरामीहरुले भने उपचार नगराएर नै घर फिर्ता हुनु पर्दा निकै दुख लागेको बताएका छन । अरु दिन विरामीहरुको भीड हुने अस्पतालको कोठाहरु आज भने पुरै सुनसान देखिन्थे ।

Comments