लुम्बिनी पत्र
गुलरिया,भदौ १८ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने प्रतिबद्धता गरेका छन् । नेपाल प्रहरी प्रादेशिकस्तरमा उत्कृष्ट रहेको बताउँदै आईजीपी खनालले अरु देशले अनुकरण गर्ने अवस्थामा र्पुयाउने दावी गरे ।
वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको उद्घाटन समारोहमा आइजीपी खनालले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।
अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा लगाउनसमेत उनले प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी संगठनको कार्य सम्पादन उत्कृष्ट हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसमा आम नागरिकको सहयोग र सहकार्यको आवश्यकता समेत औंल्याए । ‘जनताले शान्ति सुरक्षाको अनुभूति गरुन, न्याय पाउन भन्ने हाम्रो प्राथमिकता हो । सोचेको जस्तो उपलब्धी त भएको छैन,’ उनले भने, ‘आम जनताले प्रहरी प्रशासनको सेवा साह्रै राम्रो छ भन्ने अवस्थामा नआएसम्म राम्रो मान्न सकिन्न ।’
महानिरीक्षक खनालले अघि भने, ‘तीनै तहको सरकारसँग मिलेर शान्ति सुव्यवस्था कायम राख्न, जनताले अनुभूति गर्नेगरि न्याय सम्पादनमा सघाउन, समृद्ध मुलुक निर्माणमा प्रहरीसँगठन सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्न तयार छ ।’
सबै स्थानीय तहसम्म प्रहरी युनिट र्पुयाउने अभियानमा प्रहरी संगठन लागि परेको पनि उनले जानकारी दिए । ‘३३ वटा स्थानीय तहमा प्रहरी युनिट थिएन, त्यसमध्ये आधा भन्दा बढी स्थानीय तहमा युनिट स्थापना भईसकेको छ,’ महानिरीक्षक खनालले भने, ‘प्रहरी युनिट धेरै खडा गर्ने र धेरै प्रहरी भर्ना गरेर मात्रै पनि शान्ति सुव्यवस्था कायम हुने हैन । एकले अर्कोलाई सहयोग गरेर अघि बढ्नुपर्छ ।’
नयाँ मुलुकी संहिताले धेरै विषयहरुलाई अपराधको संज्ञा दिएकोले प्रहरी संगठन झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।
लुकेको इच्छा पूरा गर्न खोज्दा समस्या आउने गरेको बताउँदै प्रहरी महानिरीक्षक खनालले सबैको उद्देश्य समाज राम्रो बनाउने हो भने मिलेर अघि बढ्न कसैले नरोक्ने उनको भनाइ छ ।
महिला हिंसा, लागू औषधविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न उनले मातहतका अधिकारीहरुलाई निर्देशन समेत दिए ।
Comments
Post a Comment