बर्दिया निकुञ्जमा पर्यटक प्रवेशका लागि ४ वटा नयाँ प्रवेशद्वार खुल्ने भो


पी सी एन / लुम्बिनी पत्र
ठाकुरद्वारा, २९ भदौ।  निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेको पर्यापर्यटनको संभावनालाइ दृष्टिगत गरि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेशका लागि ४वटा नयाँ प्रवेशद्वार खोलिने भएको छ। 
जिल्लाका बिभिन्न स्थानीय तह तथा पर्यटन व्यवसायीहरुबाट माँग भए बमोजिम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले निकुञ्जको बञ्जरिया रेञ्जपोष्ट, अम्रेनी पोष्ट, रम्भापुर सेक्टर र चेपांग रेन्जपोष्टबाट नयाँ प्रवेशद्धार खोल्ने निर्णय गरेको हो । 
यो संगै बर्दिया निकुञ्ज प्रवेश गर्ने प्रवेशद्वारको संख्या ५ पुग्ने छ । निकुञ्जमा हाल ठाकुरद्वारामा मात्र प्रवेशद्वार छ ।  
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा स्थानीय तह र पर्यटन व्यवसायीको माँग  अनुसार पर्यटक प्रवेशका लागि नयाँ प्रवेशद्वार खोल्न विभागमा लेखि पठाएको थियोे र सोही बमोजिम बिभागले निर्णय को पत्र आफुहरुलाइ प्राप्त भएको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।  
असोजको दोस्रो हप्तादेखि नयाँ प्रवेशद्धारबाट पर्यटक भित्रयाउने गरि काम गरि स्थानीय निकायसंग समन्वय कर्मचारी व्यवस्थापन, टिकट काउन्टरको निर्माण र गेट निर्माण कार्य छिट्टै शुरु गर्छौ ः उनले भने । 
नयाँ प्रवेश द्धार खुलको क्षेत्रमा पर्यटक,नेचर गाइड, राजस्वको सुरक्षा व्यवस्था मिलाइ समयमै नियमित रुपमा राजस्व दाखिला गर्न गराउन समेत बिभागले निकुञ्जलाइ पत्राचार गरेको सहायक अधिकृत भण्डारीले बताए ।
विभागले नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत संगठन व्यवस्थापन अनुसारको मौजुदा जनशक्तिबाट ती प्रवेशद्धारहरु सञ्चालन ल्याउन, सरोरकारवाला निकायको सहयोग र समन्वयमा न्युनतम पर्यटकीय पुर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम तैयार गर्न समेत निर्दैशन दिएको छ । 
स्वदेशी तथा विदेशी गरि बर्षेनी करिब २०हजार  पर्यटकले बर्दिया निकुञ्ज भ्रमण गर्ने गरेकोमा नयाँ प्रवेशद्धार खुलेपछि  पर्यटकको संख्या दोब्बर हुने पर्यटन व्यवसायी श्रीधर पोखरेलले बताए । निकुगञ्जले गत बर्ष पर्यटकबाट करिब ३ करोड जति राजस्व असुल गरेको थियो अब  राजस्व पनि दोब्बर हुने आशा गरेको अधिकृत भण्डारीको भनाइ छ। 
बर्दिया निकुञ्जमा बर्षेनी ६ हजार जति विदेशी र करिब १४हजार नेपाली पर्यटकहरुले निकुञ्ज भ्रमण गर्ने गरेकोमा नयाँ प्रवेशद्वारले पर्यटकको संख्या दोब्बर हुनुका साथै  मध्यवर्ती क्षेत्रमा होटलहरु विकास तथा विस्तार भइ थप रोजगारी सृजना हुने ,राजस्व बृद्धि हुने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले बताए ।  पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेकोले नयाँ प्रवेशद्वारको माँग गरिएको थियो । 
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेपछि विदेशमा विशेष चर्चा पाएको बर्दिया राष्ट्रिय निकुञ्जमा  निकुञ्जमा बाघ, गैँडा, हात्ती लगाएतका वन्यजन्तुको सजिलै देख्न पाईने भएपछि वन्यजन्तु हेर्न  निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेको सन्दर्भमा थप प्रवेशद्धार खोल्नु अत्यन्त सकारात्मक कुरो भएको प्यराडाइज होटलका प्रबन्धक शंकर भट्टराइले बताए ।
नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात बर्दिया निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ । 
बि.स. २०३२ साल अर्थात सन् १९७६मा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्जमा बि.स. २०५३ साल अर्थात सन् १९९६मा मध्यवर्ती क्षेत्र स्थापना गरिएको थियो । यो निकुञ्जको क्षेत्रफल ९६८ वर्ग कि.मि. र मध्यवर्तीको क्षेत्रफल ५०७ वर्ग कि.मि. छ ।
शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको थियो ।
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । 
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने यस निकुञ्जमा जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको बिभागले जनाएको छ । 


Comments