हेटौँडा–काठमाडौँ सुरुङ मार्ग प्रदेश सरकारले बनाउने


प्रेसक्लब /लुम्बिनी पत्र
हेटौडा, असोज २ गते । प्रस्तावित हेटौडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माण अन्योलपूर्ण विवादास्पद बन्दै गएको समयमा प्रदेश ३ सरकारले आफैँले निर्माण गर्ने निर्णय गरेको छ । सुरुङ मार्ग निर्माणमा लगानी अभाव र निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा नेतृत्व विवादले ढिलाइ भएपछि प्रदेश सरकारले आफैँ निर्माण गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश ३ का आन्तरिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेले सुरुङ मार्ग प्रदेश सरकारले आफैँले निर्माण गर्ने बताउनुभयो । प्रदेश ३ को प्रदेशसभा बैठकमा सोमबार बोल्दै मन्त्री जम्कट्टेलले विकास र समृद्धिसँग जोडिएको सुरुङ मार्ग निर्माणका नाममा निजी क्षेत्रले ओगटेर राखेको आरोप लगाउनुभयो । उहाँले सुरुङ मार्ग निर्माण गर्ने प्रदेश सरकारको नारामात्र होइन प्रतिबद्धता हो भन्दै यातायात ढुवानी र आवागमन लागत पनि घट्ने भएकोले सरकार सुरुङ मार्ग निर्माण गर्ने निर्णयमा पुगेको बताउनुभयो । 
उहाँले प्रदेश सरकारले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) कम्पनीसँग सङ्घीय सरकारले गरेको सम्झौता खारेज गर्न प्रदेश मन्त्रिपरिषद् बैठकबाट निर्णयसहित सङ्घीय सरकारमा आवश्यक प्रक्रिया थालेको जानकारी दिँदै भन्नुभयो, कम्पनी खोलेर मात्र काम नहुने रहेछ । 
प्रदेश सरकारको २०७५र७६ को नीति तथा कार्यक्रममा प्रदेश गौरवको आयोजनामा राखेर प्रदेश सरकारले हेटाँैडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माण गर्नचासो देखाएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा भीमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रस्ताव तयार गर्न बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले भक्तपुर–पाँचखाल सुरुङ मार्ग परियोजनालाईसमेत प्राथमिकतामा राखेको छ । 

Comments