४ बर्षपछि पनि बाढीपीडितका पीडा उस्तै


प्रेम विश्वकर्मा
बर्दिया, असोज १७ । पुरै गाउँबगरमा परिणतभएको छ । खर, सिमेन्टका टायल, जस्तापाताले छाएका घर, रुख–विरुवा, खेतीबालीले भरीभराउ देखिने गाउँअहिले खाली छ । नदीको कटानबाट अल्गो–होंचो भएको जमिन, झाङ्गिएका बाँस, ठूला केही रुखका मद्दतले पुरानो अवस्थाबारे छुट्टाउन सकिन्छ ।
प्रत्येक बर्ष बाढीको उच्चजोखिम रहने भएपनि २०७१ साल साउन अन्तिममा बबई नदीमा आएको ठुलो बाढीले खेतीयोग्य जमिन सहित सबै बस्तुहरु बगाएर लगेको बर्दिया जिल्लाको गुलरिया नगरपालिका ४ रामपुर टापुका गोपाल राना क्षेत्रीले बताउनुभयो ।
उहाँकाअनुसार २०३३ सालपछि त्यहाँ बस्ती बस्न शुरु भएको थियो । थोरै मात्र नम्बरी जग्गा थियो । पछि त्यो ठाउँ रामपुर टापुका नामले चिनिन थाल्यो  । बाढीले निकै सास्ती दिनथाले पछि गाउँ नै सारिएको छ ।
रामपुर टापु त एउटा उदाहरण मात्र हो । बर्दियाको गुलरिया, बारबर्दिया, मधुवन, ठाकुरबाबा, राजापुर, गेरुवा, बढैयाताल, बाँसगढी नगरपालिका र गाउँपालिका अन्र्तगत् पर्ने वडाका बाढीपीडितलाई २०७४ सालमा आएको बाढीले फेरी पनि नराम्रोसँग सतायो ।
जाडो, गर्मीको कुरा नै छोडौं । यसपाली (२०७५) को बर्षा, यसको पनि करिब अन्त्यतिर पुगीसक्योे । पीडितलाई कसरी ओत लाग्ने भन्नेमै धेरै चिन्ता छ ।
२०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पपछि बाढीपीडितका राहत सहित उचित पुर्नस्र्थापनाको माग ओझेलमा पर्न गएको बाढीपीडित संघर्ष समिति बर्दियाका संयोजक विन्तीराम थारु बताउनुहुन्छ । पीडितका समस्यालाई संघर्षबाट उजागर गरी सरोकारवालाको ध्यानआकर्षित गर्ने कामजति गरेतापनि सुनुवाई नभएको संयोजक थारुको गुनासो छ ।
रामपुर टापु (टोल) नयाँ बस्ती वडानम्बर ४ की रुपकला भण्डारीले भन्नुहुन्छ, “राज्यले हामीलाई गोलीहानी मारिदियोस, कि हामीलाई डोकी डाली बोकेर तिमीहरु नेपालका जनता होइनौं भनी पठाईदियोस् ।”
रुपकला जस्तै सामान्य छेकबार गरिएका झुपडिमा ३८ जनाको घरपरिवार बस्दै आएको छ । पहिले ४३ घरपरिवार रहँदै आएकोमा कतिपय पीडितको मृत्युभएकाले संख्या घटेको हो ।
वडानम्बर ४ का स्थानिय खरिलाल लामिछानेको १ विगाह १५ धुर जग्गापीडित सबै घरपरिवारका लागिभनी साढे ३ लाख रुपैयाँका दरले २०७५ जेठ मसान्तको समयावधिमा भुक्तानी गर्ने गरी खरिद गरेका थिए ।
“७ धुर देखी १ कठ्ठा सम्म सबैले आ–आफ्नो नाममा जग्गादर्ताको प्रमाणपत्र त लिएका छौं, तर पैसा भुक्तानीगर्न नसकेर आफ्नो जस्तो लागेको छैन, सरकारले हामीलाई आशा देखाएर धोका दियो,” रुपकला थप्नु हुन्छ ।
रामपुर टापु (टोल) नयाँ बस्तीका अधिकांश बाढीपीडितले पहिलो किस्ताबापत सरकारबाट पाएको ५० हजार रुपैयाँ ७ धुर जग्गामा खर्च गरेका छन् । तर नेपाल सरकारले उपलब्ध गराउने भनेको रकम समयमा नआए पछि उनीहरु थप मर्कामा परेका हुन् । सरकारले तीनलाख पचास हजार रुपैयाँ अनुदान रकम उपलव्ध भनेको थियो ।
गुलरिया नगरपालिका २ संगमबस्तीटोल नम्बर ५ का बाढीपीडित मन कुमारी बिकले रकम अभावकै कारण घरको जगभन्दामाथिको काम गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई कोठे घरको जग हो, २०७४ साल जेठ महिनामा जग बसाल्यौं, तर पैसा अभावमा काम रोकिएको छ ।” नेपाल सरकारले घर बनाउन तीनलाख रुपैयाँउपलब्ध गराउने भनेको थियो ।
अहिले कसरी बसी रहनुभएको छ ? भन्ने प्रश्नमा बिकले भन्नुभयो, “बस्नलाई त गाह्रो भा’छ अब के गर्ने, जसरी भए पनि दुःख गर्नुप¥यो, घर चुहिएपनि बस्न परिहाल्यो, कहाँ जाने होर, घाम, पानी, जाडो भएपनि सहनप¥यो, ६ जनाको परिवार छ, श्रीमान भारततिर गएर मजदुरी गर्नुहुन्छ । बाबु नानीहरु सानै छन् ।”
संगमबस्तीटोल नम्बर ५ मापुर्ण क्षतिमै परेका ६ सय ४९ जना बाढीपीडित रहेको तथ्याङ्क छ । अर्का बाढीपीडित दिपक परियार मजदुरी गरी कमाएको केहीपैसा र सरकारले पठाएको ५० हजार रुपैयाँ मिलाएर घरको जग बसालेको बताउनुहुन्छ । थप राहत रकम नआएपछि घर कसरी बनाउने भन्नेमा चिन्तित् रहेको उहाँले बताउनुभयो ।
बाढीपीडित संघर्ष समिति बर्दियाका सदस्य तथा पीडित मदन खत्रीले रामपुर टापुका ६ जना र संगमबस्तीका २ जनाले अकालमै ज्यानगुमाएको बताउनुभयो । २०७१ साल साउन २९ गते गाउँमाबाढी पसेपछि सुरक्षित स्थानमा जाने क्रममा बाढीले बगाउदा उनीहरुको ज्यान गएको हो । उहाँले भन्नुभयो, धेरै धनसम्पतिको क्षतिभयो, २०७१ र २०७४ साल हाम्रा लागि राम्रो वर्ष भएनन् । धेरै जना ऋण लिएर चर्को ब्याजमा पर्नुभएको छ, बाँच्नका लागि ऋण लिनु बाहेक अर्को विकल्प छैन, सरकारले पनि अहिले सम्म दिने भनेको राहत दिन आलटाल गरिरहेको छ । यता हामी बाढीपीडितलाई दैनिकी चलाउन गाह्रो भइरहेको छ ।”
नेपाल सरकार शहरीविकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगंजका इन्जिनियर होमनाथ भुषालले पीडितलाई राहत र पुन ः स्थापना गर्ने उद्देश्यका साथ मन्त्री परिषद बैठकबाटै निर्णय २०७२ असार ४ गते भई बाँके, बर्दियाका लागि रकम अख्तियारी भई आएको र सोहीअनुसार वितरणभएको जानकारी दिनुभयो ।
२०७१ साल चैत्र १३ गतेकोमन्त्री परिषद बैठक निर्णयपछि आशिंक क्षतिग्रस्त बाढीपीडितका लागि ४ करोड ५० लाख रुपैयाँ प्राप्तभएको थियो । पुर्ण क्षतितर्फ ४९ करोड ५० लाख रुपैयाँ प्राप्तभएकोमा कार्यविधिमा ब्यवस्थाभए अनुसार पहिलो किस्ताको १९ करोड २८ लाख ५० हजार रुपैयाँपीडितलाई ५० हजार रुपैयाँका दरले बैंक खातामार्फत् उपलब्ध गराईएको छ । रकम प्राप्त गर्ने पीडितको संख्या ३ हजार ८ सय ५७ जना रहेको छ ।
२०७४ बैशाखमा प्राप्त रकममध्ये ३० करोड २१ लाख ५० हजार रुपैयाँभने पीडितहरु सम्र्पकमा नआएको भन्दैखर्च हुन नसकी फ्रिज भएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगंजले जानकारी दिएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद) को २०७२ असार ४ गतेको निर्णय र २०७१ सालको बाढीपहिरोबाट क्षतिग्रस्त भएका बर्दिया लगायतका जिल्लामा निजी आवाज पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७३ बमोजिम अनुदान सम्झौता र वित्तीय प्रबन्धमा उल्लेख भएअनुसार लाभग्राहीहरु मध्ये घडेरी भएकालाई तीनलाख रुपैयाँ र घडेरी नभएकालाई तीनलाख पचास हजार रुपैयाँअनुदान रकम उपलब्ध गराइनेछ, भनिएको छ । कार्यविधि बमोजिम पहिलो किस्तामा ५० हजार रुपैयाँ र दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्तामा १ लाख रुपैयाँ उपलब्ध गराउने भनिएको छ ।


Comments