गुलरियामा भन्सार नाका र भुरिगाउँ–सुर्खेत –तेलपानी सडकलाइ सरकारले प्राथमिकता दिनुपर्छ : कांग्रेस नेता खनाल


लुम्बिनी पत्र
ठाकुरबाबा, माघ २ । नेपाली कांग्रेसका महासमिति सदस्य एंव कानुनविद विद्याप्रसाद खनालले बर्दियावासी र कर्णाली प्रदेशका बासिन्दाहरुको समृद्धिका लागि गुलरिया मुर्तीहामा थप नाकाको व्यवस्था गर्न र गुलरिया भुरिगाउँ तेलपानी सुर्खेत हुदै जुम्ला जोडने सडक निर्माणलाइ सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। 
मंगलवारबाट बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.९ ठाकुरद्धारामा शुरु भएको बर्दिया माघी तथा पर्यटन महोत्सवलाइ सम्बोधन गर्दे कांग्रेस नेता खनालले कृषि, जडिबुटी, वन र वन्यजन्तु लगायतका प्राकृतिक सम्पदाका र धार्मिक पर्यटनको प्रचुर संभावना बोकेको बर्दिया जिल्लालाइ समृद्ध बनाउन गुलरियामा थप नाका बनाइ  भुरीगाउ तेलपानी सुर्खेत सडक निर्माण कार्यलाइ तीव्रता दिन महोत्सव उद्घाटन समारोहका प्रमुख अथिति नेपाल सरकारकार भौतिक तथा यातायात मन्त्री रघुविर महासेठलाइ  आग्रह समेत गरे ।
नेता खनालले निकुञ्जबाट हुने जनधनको क्षती नियन्त्रण गर्न , गोदाना र सुखाडको  बीचमा पर्ने ओरही खोलामा पक्की पुल निर्माण गर्न समेत मन्त्री महासेठको ध्यानकर्षण गराए ।
बर्दियाको पवित्र भुमी ठाकुरद्वारामा आयोजित बर्दिया माघी तथा पर्यटन महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण योगदान पुरयाउने विश्वास गर्दे कांग्रेस नेता खनालले वी पी कोइरालाको प्रजातान्त्रिक समाजवादको नीति अनुरुप नेपाललाई समृद्धशाली बनाउन सकिने बताए । 
नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव समेत रहेका विद्याप्रसाद खनालले देशमा राजनैतिक उपलब्धि हासिल भईसेकेको बताउदै अब सबैले आर्थिक तथा सामाजिक विकासद्धारा नेपाललाई समृद्धशाली बनाउनु पर्ने बताए। वी पी को प्रजातान्त्रिक समाजवादलाई सम्झदै केन्द्र ,प्रदेश र स्थानीय तहमा आर्थिक,सामाजिक र भौतिक विकास गरि नेपाललाई समृद्ध बनाउनु पर्छ ः उनले भने । 
नेपाली कांग्रेसको आवहानमा २००७ सालमा भएको राजनैतिक क्रान्ति पछि नेपालमा प्रजातन्त्रको लहर शुरु भएको २०७२सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारि भई नेपालमा जनताले चाहेको समावेशी लोकतन्त्र शुरु भएको बताउदै लोकतन्त्रको संस्थागत विकासलाई नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा छिट्टै समृद्धि हासिल गर्न जरुरी रहेको बताए ।
देशमा ब्याप्त बेथिति र भष्ट्रचारले लोकतन्त्रको संस्थागतको विकासमा अवरोध पुरयाउन थालेकोमा चिन्ता ब्यक्त गर्दे नेता खनालले त्यसलाई रोक्न पार्टी र सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले रोजगारीका युवाहरुको वैदैशिक पलायनलाई रोक्न स्थानीय ,केन्द्र र प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार बनाउन सीपमुलक तालिम,सहुलियत दरमा ऋृण र व्यापार व्यवसाय तर्फ प्रोत्साहन गर्नुपर्ने बताए ।
स्थानीय तहका जनप्रतिनिधिहरुले छिटो, छरितो र पारदर्शी रुपमा सेवा प्रवाह गर्न गराउन नसकेको उनको भनाइ थियो । कर वृद्धि, गाडी खरिदमा अनियमितता जस्ता समस्या देखा परेकाले सरकारले जनताको पक्षमा काम गर्न नसकेको कांग्रेस नेता खनालको आरोप समेत छ । 
उद्घाटन समारोहलाइ सम्बोधन गर्दे ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले कृषि ,पर्यटनबाट बर्दियाको सपना साकार पार्न धार्मिक,सांस्कृतिक र पर्यटन प्रर्वद्धन गर्नका लागि पुस ३० गते बेलुकादेखि माघ ४ गतेसम्म ठाकुरद्वारा मन्दिर परिसरमा आयोजना गरिएको बर्दिया माघी तथा पर्यटन महोत्सवलाइ सफल पार्न सबैमा आग्रह समेत गरे। 


Comments